गर्भवती तथा नवजात शिशुबारेअन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं, २० मंसिर । गर्भवती महिला तथा नवजात शिशुको हेरचारबारेको नवौं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । गर्भवती महिला तथा नवजात शिशु समाजद्वारा आयोजित सो सम्मेलनमा बेलायत, भारत, बंगलादेश, जापान र नेपालका स्त्री तथा प्रसूति विशेषज्ञ तथा बाल रोग विशेषज्ञ गरी करिब १७५ जनाको सहभागिता थियो ।

गर्भवती महिला र नवजाज शिशुको हेरचार सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने सो सम्मेलनमा विभिन्न विषयमा ५० वटा भन्दा बढी कार्यपत्र प्रस्तुत गरिएका थिए । समापन कार्यक्रममा समाजका संस्थापक अध्यक्ष डा. धर्मशरण मानन्धरद्वारा स्थापित ‘लाइफ टाइम एचिभमेन्ट एवार्ड’बाट वरिष्ठ स्त्री तथा प्रसूति विशेषज्ञ डा. सानुमैया दलीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री विद्याधर मलिकले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य समस्या हल गर्न नेपालका अति दुर्गम स्थानमा नि:शुल्करुपमा कार्यरत हजारौं सामुदायिक स्वास्थ्य सहयोगी महिलाहरुको भूमिकाको प्रशंसा गरे । उनले स्वास्थ्य केन्द्रमा प्रसूतिका लागी आउने महिलाका लागि सरकारले यातायात सुविधा दिने व्यवस्थालाई निरन्तरता दिँदै ‘न्यानो झोला’ नामक नयाँ कार्यक्रम ल्याएको जानकारी दिए ।
न्यानो झोला कार्यक्रम अन्र्तगत सरकारले सुत्केरी महिलालाई प्रयोग गर्ने कपडा, बच्चा बेर्न न्यानो कपडा, टोपी, मोजा, पन्जा, पेटिभोटो एउटा झोलामा दिने तयारी गरेको बुझिएको छ । सो अवसरमा स्वास्थ्य सचिव डा प्रवीण मिश्रले गर्भवती महिला र शिशुको प्रसूतिपछि पनि उत्तिकै स्याहारको आवश्यकता रहेको धारणा राखे । समाजका अध्यक्ष डा. इन्दिरा सत्यालले नेपालमा सबै स्थानमा स्त्री र प्रसूति विशेषज्ञ चिकित्सक पुग्न नसक्दा ग्रामीण र दुर्गम स्थानमा गर्भवती र नवजात शिशुले आवश्यक सहयोग पाउन नसकेको गुनासो गरिन् ।

प्रतिक्रिया