रजनीले आर्यनलाई बच्चैदेखिको फ्यान हुँ भनेपछि…

lofarकाठमाडौं १९ मंसिर । २१ मंसिर अर्थात् आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लोफर’को एक पत्रकार भेटघाट कार्यक्रम मंगलबार काठमाडांैमा आयोजना गरिएको थियो । छविराज पोडक्सनमा बनेको चलचित्र ‘लोफर’ शुक्रबारबाट देशभरका सय हलमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ । पहिलोपटक एकैसाथ सय हलमा नेपाली चलचित्र लाग्न लागेको कार्यक्रममा वितरक प्रदीप उदयले बताए । यसैले पनि यतिबेला निर्माता छविराज ओझा चलचित्रको जतिसक्दो प्रचार–प्रसारमा लागिरहेका छन् । पत्रकार सम्मेलनमा चलचित्रको प्रोमो र गीत सार्वजनिक गरिएको थियो ।

तर, कार्यक्रममा नवअभिनेत्री रजनी केसीको मन्तव्यले भने अभिनेता आर्यन सिग्देललाई केही बुढो भएको महसुस गराइदियो । यसै त ग्ल्यामर क्षेत्रमा आवद्ध व्यक्तिहरू आफ्नो उमेरबारे बोल्नु नपरे हुन्थ्योजस्तो सोच्छन् । उनीहरूको एउटै चाहना जहिल्यै जवान देखिने हुने गर्छ । चलचित्र ‘लोफर’को प्रेस सम्मेलन समारोहमा नवअभिनेत्री रजनीले दिएको मन्तव्यले अभिनेता आर्यनलाई मात्र होइन निर्माता छविलाई पनि कुनै बच्चालाई चलचित्रमा लिएको आरोप लाग्यो । चलचित्रकी सोलो अभिनेत्री भएकीले रजनीलाई ‘लोफर’मा निभाएको भूमिका बारे बोल्न लगाइएको थियो । तर, माइक समाउँदै रजनीले बिग ब्यानरबाट चलचित्रमा आफ्नो डेब्यु भएकोमा खुसी व्यक्त गरिन् । कार्यक्रममा उनको खुसीले सीमा नै नाघ्ने गरी अभिनेता आर्यन सिग्देलसँग काम गर्न पाउनु खुसीको कुरा रहेको बताउँदै भनिन्, ‘आर्यन सिग्देलको म बच्चैदेखिको फ्यान हुँ ।’ अभिनेत्री रजनीको यस्तो अभिव्याक्ति सुनेपछि कार्यक्रममा निर्माता छविराजलाई कुनै बच्चीलाई चलचित्रमा उठाएर लगाएको आरोप लाग्यो । बच्ची फ्यानले फिल्म खेल्दा आर्यन चाहिँ कति वर्षका भए त ? कार्यक्रममा प्रश्न उब्जियो । फेरि अभिनेता आर्यन नेपाली चलचित्र क्षेत्रमा भित्रिएको पनि ६/७ वर्ष मात्र भयो । अभिनेत्री रजनीले सो वाक्य टुंग्याउन नपाउँदै कार्यक्रम हलमा उपस्थित भएका सहभागीबीच हाँसो चल्यो । अभिनेता आर्यन मुस्कुराए मात्र । अभिनेत्रीको सो कुराबारेमा बोल्दै अभिनेता आर्यनले पनि रजनी बच्चै भएकाले निर्देशक, निर्माताले चलचित्रमा आफूसँग ननचाएको प्रतिक्रिया दिएका थिए ।
भान्टा एक प्रतिष्ठित व्यक्ति बन्न चाहँदा चाहँदै पनि बाध्यतावश खराब व्यक्ति बन्न पुग्छ । समाजमा बस्ने कस्ता व्यक्तिलई लोफर भन्ने र कस्तालाई असल भन्ने प्रश्न भान्टाले खडा गरेको छ । बाँच्नका लागि गरेको भान्टाको संर्घषलाई नै लोफरको मुख्य कथा बनाइएको कार्यक्रममा बताइएको थियो । सो भान्टाको क्यारेक्टर अभिनेता दयाहाङ राईले निभाएका छन् ।
नवनिर्देशक आदित्यविक्रम लम्सालले निर्देशन गरेको चलचित्र लोफरमा अभिनेता आर्यन सिग्देललाई निर्माता छविराजले चलचित्र ‘किस्मत’ र ‘कसले चोर्‍यो मेरो मन’पछि यहि चलचित्र ‘लोफर’बाट पुन: लिएका हुन् । यति मात्र होइन चलचित्रमा अभिनेत्री रेखा थापालाई छाडेर निर्माता छविले रजनी केसीलाई
भित्र्याएका कारण चलचित्रको चर्चा सुरुताका देखिकै थियो । कमलमणि नेपाल, सुशिलराज पाण्डे, कमलकृष्ण पौडेल, ध्रुव कोइराला, अमित श्रेष्ठ, सरोज बखुरेलको साथमा नवकलाकारहरू सागर लम्साल र अनुपम शर्माको पनि अभिनय रहेको छ । यो चलचित्रमा सोनाल कृष्ण सापकोटा, आदित्यविक्रम लम्साल र बाबु प्रधानले संगीत भरेका छन् । चलचित्रमा चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको नृत्य, मदनकाश्यप घिमिरेको छायांकन, तारा थापाको सम्पादन छ ।

प्रतिक्रिया