सभासद्ले बनाउने भए सुनकोसीमा पुल

सोलुखुम्बु, १८ मंसिर । दोस्रो संविधानसभाको निर्वाचनमा विजेता बनेका सभासद्हरूले आगामी एक वर्षभित्रमा सुनकोसीमा पुल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जिल्लाबाट प्रत्यक्षतर्फ जितेका सभासद्हरुले तीनवटै जिल्लाको मुख्य समस्याका रूपमा रहेको सुनकोसी नदीको पुल छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि पहल गर्ने प्रतिबद्धता गरेका हुन् ।
खोटाङ जिल्ला क्षेत्र नं २ बाट जितेका विशाल भट्टराईले भौतिक योजना मन्त्रालयमा धर्ना दिएरै भए पनि पुल निमार्णका लागि आफुले पहल गर्ने बताए ।
क्षेत्र नं १ खोटाङबाट जितेका एमालेका पाँच कर्ण राई (पिके)ले जिल्लाका पनि आफ्नो मुख्य उदेश्य भनेको नै सुनकोसीमा पुल निर्माण गर्नु रहेको बताए । उनले संसद्मा आफ्नो पहिलो उपस्थिति नै पुल निर्माणको विषयमा रहेको जानकारी गराए ।
यस्तै ओखलढुङ्गा क्षेत्र नं २ का विजेता सांसद रामहरि खतिवडा र क्षेत्र नं १ का यज्ञराज सुनुवारले पनि आफुहरुको पहिलो उदेश्य नै सुनकोसीमा पुल बनाउने भएको बताए ।यसअघि सोलुखुम्बुबाट निर्वाचित भएका नेपाली कांग्रेसका बलबहादुर केसीले पनि एक वर्षभित्रमा सुनकोसीमा पुल बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुर र ओखलढुङ्गा जोड्ने सुनकोसी नदीको पक्की पुल निर्माण सुरु गरिएको एक दशकभन्दा बढी भए पनि पुल निर्माणको काम अझै सकिएको छैन । राजनीतिक दलका नेताहरूको मिलेमतोमा ठेकेदारले विभिन्न बहाना बनाएर काम रोकेपछि निर्माण कार्य अलपत्र छ ।
सुनकोसीमा पुल नहँुदा उदयपुरको कटारी तथा काठमाडांैबाट नेपालथोक हँुदै ओखलढुंगा, खोटाङ र सोलुखुम्बुसम्म चल्ने यातायात सञ्चालन हुन सकेको छैन । पुल नबनेका कारण यी तीनवटा जिल्लामा दैनिक उपभोग्य सामग्री तथा निर्माणलगायतका सामग्रीको चर्को मूल्य रहेको छ ।
ठेकेदार कम्पनी वाइबा कन्स्ट्रक्सनसँग तत्कालीन सरकारले २०५९ साल असार २८ गते निर्माण सुरु गरी २०६३ साल असार मसान्तभित्र सम्पन्न गर्न सम्झौता गरेको थियो । निर्माण कम्पनीले सम्झौतापछि तोकिएको अवधिभित्र सडक विभागले निर्माणस्थल निश्चित नगरेकोलगायतका समस्या देखाएर काम अलपत्र छोड्दै आएको छ ।

प्रतिक्रिया