शिवालयहरुमा दिवंगतका लागि ‘शतवीज’

Pashupatiकाठमाडौं, १७ मंसिर । दिवंगत भएका आफन्तका आत्माको चीरशान्तिको कामना गर्दै काठमाडौंको पशुपतिनाथ क्षेत्रस्थित श्लेषमान्तक वनसहित देशभरका शिवालयहरुमा शतवीज छरी बालाचतुर्दशी पर्व मनाइदैछ ।

आज (सोमबार) विहानै देखि शतवीज छरीएका छन् । हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिडालु र हलेदोलगायत वस्तुका टुक्रा छर्दै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गर्ने परम्परा छ ।

कैलाश डाँडा, ठूलो महास्नानघर, घ्याम्पो पाटी, वज्रघर, पञ्चदेवल, राममन्दिर, भष्मेश्वर, राजराजेश्वरी, वागमतीपारि, नासलचोक, भुवनेश्वरी, वरुणधारा, वनकालीलगायतको परिक्रमा गरिन्छ । भक्तजन रातिदेखि नै महादीप बाली जाग्राम बसेका थिए ।

बालाचतुर्दशीमा मृगस्थली वा श्लेष्मान्तक वनमा छरेको शतवीज दिवंगत भएकाहरुका लागि खानेकुरा रोपिएको भन्ने मार्मिक मान्यता छ । शतवीजबाट उम्रेर आएको अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । बालाचतुर्दशीमा एक गेडा शतवीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया