७५ प्रतिशत महिलामा यौनरोग संक्रमण

कञ्चनपुर, १६ मंसिर । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले विभिन्न स्वास्थ्य शिविरमा गरेको सर्भेक्षणअनुसार ग्रामीण क्षेत्रका ७५ प्रतिशतभन्दा बढी महिलामा यौनरोगको संक्रमण रहेको पाइएको छ ।

महिलामा व्यक्तिगत सरसफाइको कमी, असुरक्षित यौनजन्य क्रियाकलाप, यौनअंगको संक्रमण, पोषणको कमीका कारण यौनरोगको समस्या देखापरेको जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पशुपति सिंहले जानकारी गराए ।
महिलाको तल्लो पेट दुख्ने, चिलाउने, पिसाब पोल्ने, सेतो पानी बग्ने, यौन अंग वरिपरि फोका देखापर्ने र यौनसम्पर्क राख्न अप्ठेरो हुनेलगायतका लक्षण लिएर उपचारका लागि पुग्ने महिलाको संख्या उल्लेख्य रहेको उनले बताए ।
यौनअंगको सरसफाइमा ध्यान दिएमा, असुरक्षित यौन सम्पर्क नराखेमा र समयमै स्वास्थ्य चौकी र अस्पतालमा उपचार गराएमा यौन रोग सहजै निको हुने उनको भनाइ छ । स्वास्थ्य शिविरमै यस्तो समस्या भएका महिलालाई यौन रोगको संक्रमण हुने कारण र निराकरणबारे जानकारी गराउने कार्य जनस्वास्थ्य कार्यालयले गर्दै आएको जनाएको ।

प्रतिक्रिया