राष्ट्रपतिकोपनि निर्वाचन हुनु पर्छ: एमाओवादी

Agni-Sapkotaकाठमाडौं, १५ मंसिर । एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले नयाँ जनादेश आएकाले राष्ट्रपति र उपराष्ट्रपतिको समेत निर्वाचन हुनु पर्ने माग गरेका छन् ।

पार्टी मुख्यालय कोटेश्वरमा आज (शनिबार) आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन माग गरेका हुन् । ‘नयाँ जनादेश प्राप्त भएको मान्ने हो भने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनु पर्छ,’ उनले भने ।

यसैबीच, प्रवक्ता सापकोटाले संविधानसभा निर्वाचनको मतदान हुनु दुईदिन अघि निर्वाचन आयोगले सर्कुलर जारी गरेर एमाओवादीलाई पराजित गर्न भूमिका खेलेको दाबी गरे । आयोगको सो सर्कुलरका चार बुँदा एमाओवादी बिरुद्ध रहेको अध्यक्ष पुष्पकमल दाहालको बुझाई छ ।

‘निर्वाचनमा धाँधली भएको छ,’ उनले भने, ‘मतगणना पुनरावलोकन नगरी संविधानसभामा जाँदैनौं ।’ उनले सरकारमा जाने कुरा त वाइयात रहेको पनि बताए । ‘सरकारमा जाने कुरा ‘कु’ तर्क मात्रै हो,’ उनले भने ।

एमाओवादीले निर्वाचनमा ९० देखि एकसय वटा मतपेटिका साटिएको सूचना प्राप्त गरेको दाबी गरेको छ । एमाओवादीले निर्वाचनमा धाँधली भएको जनाउँदै आएको छ ।

प्रतिक्रिया