काठमाडौं, १४ मंसिर । कांग्रेस सभापति सुशील कोइराला र नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि बी जेमीबीच भेटघाट भएको छ ।
कोइराला निवास महाराजगञ्जमा आज (बिहीबार) भएको भेटमा जेमीले संविधानसभा निर्वाचनमा कांग्रेसले अग्रता लिएकोमा बधाई दिए । जेमीले नयाँ संविधानका लागि सहमति र सहकार्यका साथ अघि बढ्न सुझाव दिए ।
जवाफमा सभापति कोइरालाले सहमतिको बाटोबाट सरकार गठन गरी संविधान निर्माणको प्रक्रिया थालेको बताए । ‘कांग्रेस सहमतिबाटै सरकार गठन गर्ने पक्षमा छ,’ उनले भने, ‘बहुमतबाटै भए पनि संविधान बनाउने छौं ।’
कोइरालाले संविधानसभाको निर्वाचनबाट लोकतान्त्रिक शक्तिहरु बलियो भएकाले समेत तोकिएकै संविधान बन्ने विश्वास व्यक्त गरे ।
यसैबीच, आजै सभापति कोइरालासँग नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुले पनि भेट गरेका छन् । महासंघले सहमतिबाट अगाडि बढ्न कांग्रेसलाई सुझाव दिएको छ ।
मुलुकमा राजनीतिक स्थायित्व भएमा मात्रै लगानी मैत्री वातावरण बन्ने महासंघको भनाई छ ।
प्रतिक्रिया