क्रिकेटरलाई १०/१० लाख दिइने

nepal-cricketकाठमाडौं, १४ मंसिर । युवा तथा खेलकुद मन्त्रालयले नेपाललाई आइसिसी टी–२० विश्वकपमा पुर्‍याउन सफल क्रिकेट टोलीलाई पुरस्कारस्वरूप जनही १०/१० लाख रुपियाँ उपलब्ध गराउने तयारी गरेको छ ।

युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले नेपाली क्रिकेट टोलीलाई जनही १० लाखका पुरस्कार दिने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने बताएका छन् । राजधानीमा बिहीबार आयोजित साक्षात्कारमा मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीलाई जनही १० लाखका दरले पुरस्कार दिने प्रस्ताव मन्त्रालयमा पठाएको जानकारी दिदै भने, ‘मन्त्रालयले त्यसमा घटाउने होइन, बरु थपेर प्रस्ताव मन्त्रिपरिषद्मा पठाउँछ ।’
नेपाली खेलाडीको प्रदर्शनले देशको शिर उचो पारेको टिप्पणी गर्दै उनले क्रिकेट खेलको विकासका लागि आवश्यक सबै सहयोग प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले दोस्रो संविधानसभा चुनावले समाजलाई विभाजित गरेको भन्दै यस्तो अवस्थामा क्रिकेटमा प्राप्त विजयले फेरि एकजुट बनाउन भूमिका खेलेको धारणा व्यक्त गरे ।
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष टंक आङ्बोहाङ लिम्बूले दिन र रात दुवैमा खेल्न मिल्ने अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान र वर्षाको समयमा पनि खेल्न मिल्ने भित्री मैदान बनाउन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि क्यानले पहल गरिरहेको जानकारी दिए ।
क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेले केही वर्षअघि आफूहरूले नेपालले विश्वकप खेल्छ भन्दा ‘उडाउने गरेको’ प्रसंग कोट्याउँदै खेलाडीहरूको मिहिनेत र लगनशीलताले नेपाल विश्वकपमा छनोट भएको बताए ।
संयुक्त अरब इमिरेट्स (युएई)को आबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा हङकङविरुद्ध रोमाञ्चक जित निकाल्दै नेपालले पहिलोपटक विश्वकप यात्रा तय गरेको छ । नेपालले आगामी मार्चमा बंगलादेशको राजधानी ढाकामा हुने टी–२० विश्वकपमा सहभागिता जनाउनेछ ।
यसैबीच, क्रिकेट संघ (क्यान)ले खेलाडीलाई जनही १/१ लाख रुपियाँ पुरस्कारस्वरूप उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया