“साना तथा मझौला व्यावसायिक संस्थालाई सहयोग आवश्यक”

काठमाडौं, १३ मंसिर । साना तथा मझौला व्यवसायीक संस्थालाई सहयोग गरेमा समावेशी व्यापारको लाभ हासिल गर्न सकिने नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले बताएका छन् ।

ठुला व्यावसायीक संस्था समावेशी नभएको र ठुला व्यावसायीक संस्थाले संचालन गर्ने व्यापार व्यावसाय समावेशी हुन नसक्ने उनको भनाई थियो । ‘एशिया प्यासिफिक ट्रेड एण्ड इन्भेष्टमेन्ट रिपोर्ट २०१३’ सार्वजनिक गर्दै खतिवडाले चालू खर्च बचतमा रहेको हुँदा व्यापार घाटाबाट डराउन नहुने बताए । त्यस्तै बरिष्ठ अर्थ विश्लेषक केशव आचार्यले नेपालले गरिबी निवारणको विषयमा प्रगति गरेपनि आर्थिक असमानता बढेको बताए ।
प्रतिवेदनमा नेपालको अर्थतन्त्र क्षेत्रिय अर्थतन्त्रको दाँजोमा खुला नभएको जनाएको छ । नेपालमा व्यापार प्रकृया पुरा गर्न ४० दिन लाग्ने तर एशिया प्यासिफिकमा औसत २८ दिनमात्र लाग्ने भन्दै नेपाल व्यापार सहजिकरणमा निकै कमजोर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । वैदेशिक लगानी नेपालमा वृद्धि हुँदै गएपनि यो पर्याप्त नभएको र कुल ग्राहस्थ उत्पादनको दाँजोमा निकै कम भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गरिबी घटाउन, असमानता हटाउन अवसरहरुमा वृहत पहुँच दिनुपर्ने तथा आर्थिक समावेशीताबाट बाहिर रहेका समुहलाई आर्थिक बृद्धिको लाभ लिन समावेश गरिनुपर्ने प्रतिवेदनमा जनाएको छ ।

प्रतिक्रिया