‘सञ्चारमा दलित महिलाका मुद्दा प्राथमिकतामा राख’

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले सञ्चारमाध्यममा दलित महिलाका सवालले स्थान पाउनुपर्ने बताएका छन् । दलित महिला संघद्वारा बुधवार आयोजित ‘सञ्चारमा दलित महिलाका मुद्दाहरू’ विषयक अन्तक्र्रियामा मन्त्री पौडेलले दलित समुदायभित्र पनि दलित महिला सबैभन्दा उत्पीडनमा परेको हुँदा उनीहरूका सवाललाई प्राथमिकताका साथ सरकारी तथा निजी सञ्चारमाध्यमले उठान गर्नुपर्ने बताए ।
सरकारले कार्यान्वयनमा ल्याएको जातीय भेद्भाव तथा छुवाछूत (कसुर र सजाय) ऐन–०६८ को कार्यान्वयनले समाजमा सकारात्मक भूमिका खेलेको छ, उनले भने, ‘छुवाछूत अन्त्य गर्न र दलित महिलाका समस्या समाधानका निम्ति सरकार विगतदेखिनै सक्रियताका साथ लागेको छ र अबका दिनमा पनि लाग्ने नै छ ।’ दलित महिला संघकी अध्यक्ष दुर्गा सोवले विगत लामो समयदेखि जातीय र लैंगीय गरी दोहोरो विभेदमा परेका दलित महिलाका सवाललाई स्थापित गर्न सरकारले विशेष नीति बनाउनुपर्ने माग गरिन् ।
दलित महिलामाथि हुने बलात्कार, बोक्सी आरोप, छुवाछूतको निहुँमा कुटपिट, अन्तरजातीय विवाहका कारण गाउँ निकालालगायतका घटनालाई सञ्चारमाध्यमले बेवास्ता गरेको उनको गुनासो थियो । (सौस)

प्रतिक्रिया