काठमाडौं, ११ मंसिर । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले अन्तरिम संविधानमा संशोधन गरेर आफूहरुलाई उचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।
काठमाडौंमा आज (मंगलबार) आयोजित कार्यक्रममा गजुरेलले संविधान संशोधनसहित निश्चित प्रतिनिधित्वको व्यवस्था भए सरकारमा पनि सहभागी हुने बताए । ‘संविधानसभा र सरकार दुबैमा सहभागी हुन तयार छौं,’ उनले भने, ‘त्यसका लागि उचित प्रतिनिधित्वको सुनिश्चितता हुनु पर्छ ।’
उनले मन्त्रिपरिषद्बाट मनोनित गर्ने २६ सिट लिएर नेकपा–माओवादी संविधानसभामा नजाने बताए । शान्ति प्रक्रियाका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा माओवादीलाई दिईए जस्तै संख्या दिनुपर्ने संकेत गजुरेलको थियो ।
उनले यथाअवस्थामा संविधानसभामा आफूहरु जान नसक्ने बताए । ‘दलहरुबीच नेकपा–माओवादीलाई कसरी पहिचान दिने र कुनस्थान दिने भन्ने विषयमा छलफल भईरहेको छ,’ गजुरेलले भने, ‘सिट संख्याका विषयमा दलहरुवीच छलफल भईरहेको छ ।’ उनले निर्वाचनमा भाग लिने र नलिने दुई ध्रुवमा मुलुक विभाजित रहेकोले सोही अनुसारको हैसियत आफूहरुलाई दिनुपर्ने बताए ।
उपाध्यक्ष गजुरेलले एमाओवादीले संविधानसभामो नतिजालाई लिएर गरेको टिकाटिप्पणी र निर्णयका सम्बन्धमा आश्चर्य व्यक्त गरे । ‘पहिला धाँधली भएकोले संविधानसभामा जान्नौं भन्ने,’ उनले भने, ‘फेरि विजय जुलुस निकाल्ने निर्णय गर्ने एमाओवादीको चाल ठीक छैन ।’
उनले नेकपा–माओवादी र एमाओवादीबीच पार्टी एकीकरण हुन नसक्ने दोहर्याए । ‘एमाओवादीसँग कार्यगत एकता समेत हुँदैन,’ उनले भने ।
‘एमाओवादी १ सय ८० डिग्रीबाट यूटर्न गरेको छ,’ उनले भने, ‘मोहन बैद्यलाई अध्यक्ष स्वीकार गरे पनि पार्टी एकता हुँदैन ।’
प्रतिक्रिया