धनगढी, ११ मंसिर । संविधानसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको परिणाम सार्वजनिक भएसँगै सरोकारवालाहरूले अब संविधान बन्नेमा आशा पलाएको विश्वास व्यक्त गरेका छन् ।
२०६४ सालमा भएको संविधानसभाको निर्वाचनबाट गठित संविधानसभाले ६ वर्षसम्म संविधान निर्माण गर्न नसकेर निरास भएका बताउने जनताहरू यो निर्वाचनमा लोकतन्त्र पक्षधरको बहुमत आएकोले संविधान बन्नेमा विश्वास बढेको बताएका हुन् । पहिचानसहितको जातीय राज्य र बहुपहिचानसहितको संघीय राज्य लगायतका विषयमा दलहरूबीच सहमति हुननसकेर संविधानसभा भंग भएको थियो ।
प्रत्यक्ष तर्फको सार्वजनिक परिणाम अनुसार कांग्रेस र एमालेको बहुमत आएकाले अब निर्धारित समयमा संविधान जारी भइ देशले संक्रमणकालबाट मुक्त पाउने विश्वास रहेको नागरिक अगुवा पदम थापाले बताए । उनले भने–‘कांग्रेस एमालेले सबै पक्षलाई समेटेर सबै मान्य हुने संविधान बनाउनेमा ढुक्क छु ।’
सशस्त्र द्वन्द्वबाट आएको प्रचण्ड (एमाओवादी) ले केही गलार्न भनेर ठूलो आसभरोसा थियो । तर, प्रचण्डले केही मधेशवादी दललाई काखी च्यापेर देशलाई जातीय राज्यका नाममा खण्डित गर्न खोजेर ठूलो भूल गरेको थापाको भनाइ छ । जनताले कांग्रेस एमालेलाई मत दिएर पठाएका छन् । यी दलले जनभावना अनुसार काम गर्नुपर्ने थापाले बताए ।
चुनाव हुन्छ की हुँदैन् भनेर मनमा डर थियो । तर, शान्तिपूर्णरूपमा चुनाव भइ मतपरिणाम सार्वजनिक भए सँगै आफूमा अब जनताले संविधान पाउने र विकास निमार्णले गति लिने विश्वास पलाएको धनगढी एलएन चोकको चटौत कपडा पसलको बाहिरपट्टी लुगा सिलाउने काम गर्दै आएका अमित टेलर (नेपाली) ले बताए । जहिले पनि बन्द हड्ताल, आन्दोलनले दिक्क लागेको बताउने नेपालीले जनमतको कदर गरी सत्ताको खेलमा नलागी देशलाई संक्रमणकालबाट मुक्त गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह समेत गरे ।
आफूजस्ता दैनिक मजदूरी गरेर खाने र पछाडी परेका समुदायको पक्षमा अब बन्ने संविधानमा स्पष्ट उल्लेख गरी विशेष राहतको कार्यक्रम ल्याउनुपर्ने नेपालीको धारणा छ । यत्तिसम्म हुनेखानेलाई मात्र हेरियो अब आफूजस्ता मजदूरी गरिखाने वर्गको उत्थान तर्फ लाग्नुपर्छ उनले भने ।
अब संविधान त बनाउलान् जस्तो छ । यस्तो मौका आउँदा पनि संविधान बनाउन नसके नेपालमा कहिल्यै पनि संविधान नबन्ने मुक्तकमैया शिवलाल चौधरीले बताए । संविधान बनाएर मात्र भएन आफूजस्ता घरवार नभएकाहरूलाई पनि विशेष आरक्षण सहितको कार्यक्रम पनि ल्याउनुपर्ने चौधरीले माग छ । चौधरीले भने–‘संघीय राज्य भन्दापनि विकास निर्माण, काम गरी खाने वातावरण र रोजगारीको व्यवस्था चाहिएको छ ।’
जो आए पनि आफूजस्ताको पक्षमा संविधान त बनाउँदैनन् । काम नगरी हँुदैन् । बन्द हड्ताल सधैका लागि बन्द भए आफूजस्तालाई धेरै राहत हुने धनगढीमा रिक्सा चलाउने काम गर्दै आएका माइला भनिने हरेराम चौधरीले बताए ।
अब जनप्रतिनिधिले कुनै पनि हालतमा जनपक्षिय संविधान बनाएर जारी गर्नैपर्छ होइन भने देश असफल राष्ट्रमा परिणत हुने नागरिक अगुवा, उद्योगीब्यापारीको भनाइ छ । संविधानसभाको निर्वाचन सँगै आएको परिणामले नेप्सेमा पनि केही आशाका संकेत देखिएका छन् । यो संकेत सँगै जतिसक्दो चाँडो सबै क्षेत्रलाई टेवा पुग्ने खालको संविधान निर्माण गर्नुपर्ने बैंकरहरूले बताएका छन् ।
राजनीतिक व्यवस्था ठीक भए सबै क्षेत्र ठीक हुनेभएकोले प्राप्त जनमतको कदर गरी वर्तमान अस्थिरताबाट मुलुकलाई स्थिरता तर्फ लिनु आवश्यक छ । यसका लागि बढी सीट पाएका कांग्रेस एमाले पहल जिम्मेवारी साथ सक्रिय भूमिका खेल्नुपर्ने जयपृथ्वी बहुमुखी क्याम्पस बझाङका उपप्राध्यापक लालबहादुर बोहराले बताए ।
प्रतिक्रिया