बाजुरामा १२ को धरौटी जफत

बाजुरा, ११ मंसिर । संविधान सभा निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका १२ उम्मेदवारको जमानत फिर्ता नहुने भएको छ । १५ जना उम्मेदवार मध्ये १२ जनाको जमानत फिर्ता नहुने जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी दर्ता गर्दा दलका उम्मेदवारहरूले ३ हजार रूपैयाँ जमानतका लागि धरौति राख्नु पर्ने प्रावधान रहेको छ । कुल सदर मत मध्ये १० प्रतिशत मत ल्याउनु पर्ने प्रावधान अनुसार साना १२ दलले आफ्नो धरौटी रकम सुरक्षित गर्न नसकेका हुन् । बाजुरामा ४७ हजार ५ सय ९१ मत सदर भएको थियो । जसमा प्रत्येक दलले ४ हजार ७ सय ५९ मत प्राप्त गर्नुपर्ने हुन्छ । नेकपा एमाले, नेपाली काँग्रेस र एमाओवादीले मात्र आफ्नो धरौटी जफतबाट जोगाउन सफल भएकाा थिए । बाजुरामा राप्रपाका चन्द बहादुर शाहले ५ सय ३२ मत प्राप्त गरेपनि अन्य दलका उम्मेदवारले भने दुई सय मत पनि कटाउन सकेका थिएनन् ।
निर्वाचनमा राप्रपा नेपालले ६५, आमा पार्टीले ५७ स्वतन्त्र उम्मेदवार देवगिरीले १७, संघिय समाजवादी पार्टीले ८८, अखण्ड सुदुरपश्चिम पार्टी १६, अखण्ड नेपाल पार्टी ५४, खस समावेशी राष्ट्रिय पार्टी १ सय ६०, राष्ट्रिय जनमोर्चा १९, समाजवादी जनता पार्टी १ सय ३८, राष्ट्रिय जनमुक्ती पार्टी १ सय ७९ र नेपाल परिवार दलले ७० मत प्राप्त गरेका थिए ।  साना दलहरूले भने जमानत मात्र फिर्ता लिनका लागि नभई जित्नका लागि आफुले उम्मेदवारी दिएको बताउँदै आएका थिए ।

प्रतिक्रिया