‘सबैलाई मान्य हुने संविधान देऊ’

काठमाडौं, ११ मंसिर । अब बन्ने संविधानसभाले सवैलाई मान्य हुने खालको संविधान बनाउन सरोकारवालाले ध्यानाकर्षण गराएका छन् । मानव अधिकार तथा शान्ति समाजद्वारा सोमवार आयोजित ‘नयाँ संविधान मानव अधिकारसम्मत संविधानको पक्षमा अभियान विषयक’ कार्यक्रममा वक्ताहरूले अब बन्ने संविधान सबै पक्षलाई स्वीकार्य हुने खालको हुनुपर्नेमा जोड दिएका छन् ।

संस्थाका संस्थापक सभापति कृष्ण पहाडीले नेपाली काँग्रेस र एमालेले विजयको उन्माद देखाएर सहमतिको बाटो छाड्न नहुनेमा जोड दिँदै भने, ‘यदि यस्तो भयो भने फेरि द्वन्द्व निम्तिन सक्छ ।’ उनले लोकतन्त्रमा निर्वाचनको परिणाम होइन प्रक्रिया र पद्धति महत्वपूर्ण हुने बताए । समाजका सभापति होमकान्त चौलागार्इंले संविधानसभाको निर्वाचनपछि लोकतन्त्रको संस्थागत गर्न मद्दत पुगेको भन्दै कसैलाई पनि निषेध गर्नेतिर सरकार नलागी संविधान निर्माणमा अब बन्ने सरकार गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए ।
समाजले नयाँ बन्ने संविधानको प्रस्तावनामा सबै अधिकार सबैका लागि भन्ने मान्यता स्थापित गरी, मौलिक आधारभूत हकको स्पष्ट उल्लेख गर्ने प्रतिबद्धता गर्दछु भनेर उम्मेदवारसँग गरेको अभियानमा ८३ जना उम्मेदवारले हस्ताक्षर गरेको जानकारी दियो ।
त्यसैगरी दोस्रो संविधानसभाको निर्वाचनमा समाजले विभिन्न ३३ जिल्लामा ४२४ जना राष्ट्रिय पर्यवेक्षक परिचालन गरेको र मतदाता नामावली सङ्कलन, मतदानको स्थिति, परिणाम प्रकाशितका दिनसम्मको पर्यवेक्षणमा अनियमितता भएको नदेखिएको उल्लेख गरेको छ । साथै समाजले विजयको भावले ग्रसित भएर सहमति र सहकार्यको बाटो नछाड्न र समयमै संविधान जारी गर्नका लागि सबैलाई विश्वासमा लिन नेपाली काँग्रेस र एमालेलाई आग्रह गरेको छ ।

प्रतिक्रिया