‘प्रचण्ड’ फकाउन लाजिम्पाट दरबारमा वार्ता

Sushil Koirala-Puspakamal Dahalकाठमाडौं, १० मंसिर । जनमतको कदर गरेर संविधानसभामा सहभागी भई नयाँ संविधानका लागि भूमिका खेल्न कांग्रेसले एमाओवादीसँग आग्रह गरेको छ ।

सभापति सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज (सोमबार) लाजिम्पाटमा भएको भेटवार्तामा कांग्रेसले निर्वाचनको परिणामलाई स्वीकार्न एमाओवादीलाई आग्रह गरेको हो । यद्यपि दाहालले यथाअवस्थामा मत परिणाम स्वकार गर्न नसकिने जवाफमा कांग्रेसलाई दिएको एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सहमतिमा नयाँ संविधान जारी गरेर राजनीतिक निकास निकाल्ने जिम्मेवारीबाट कुनै पनि दल पन्छिन नहुने कांग्रेस सभापति कोइरालाको भनाई थियो । ‘जनताको म्याण्डेटको कदर गर्नु सबै राजनीतिक दलको अनिवार्य दायित्व हो,’ कोइरालाले भने, ‘आवेगमा आएर गरिने निर्णयले मुलुकलाई दीर्घकालसम्म असर गर्छ ।’

जवाफमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा धाँधली गरेर आफूहरुलाई पराजित गरेको गुनासो दोहर्‍याए । ‘निर्वाचनमा धाँधली भएको छ,’ उनले भने, ‘निर्वाचन मत परिणाममा पुनरावलोकन हुनु पर्छ ।’

अध्यक्ष दाहालले अहिलेको निर्वाचन परिणाम बनावटी भएको बताए । ‘अहिलेको निर्वाचन परिणाम बनावटी छ,’ उनले भने, ‘यथास्थितिमा संविधानसभामा हामी सहभागी हुँदैनौं ।’

भेटवार्ताका बारेमा जानकारी दिँदै एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले संविधानसभा निर्वाचनको परिणाम प्रति आफूहरु सन्तुष्ट नरहेको बताए ।

प्रत्यक्षतर्फको परिणामबाट कांग्रेस पहिलो पार्टी बने लगत्तै असन्तुष्ट दलहरुसँग राजनीतिक पहल थालेको हो । भेटमा कांग्रेस सभपाति कोइराला, एमाओवादीबाट अध्यक्ष दाहाल नेता बाबुराम भट्टराई र श्रेष्ठलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया