वैद्यसँग ‘सम्बन्ध नवीकरण’ गर्दै दाहाल

puspakamal n mohan baidhayaकाठमाडौं, १० मंसिर । दोस्रो संविधानसभा चुनावमा अप्रत्यासित हार बेहोरेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आफ्नो पार्टीबाट अलग्गिएर गठन भएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको सहारा खोज्न पुगेका छन् ।

१३ असोजदेखि दुई पार्टीका नेताहरूबीच दुई पक्षीय वार्ता टुटेको अवस्थामा एमाओवादी अध्यक्ष दाहालले नेकपा–माओवादीका नेताहरूसँग आइतबार भेटवार्ता गरेका हुन् । चुनाव बहिष्कारको नेतृत्व गरिरहेको नेकपा–माओवादी र चुनावपछि धाँधली र षड्यन्त्र गरेर हराएको भन्दै सम्पूर्ण चुनावी प्रक्रिया पुनरावलोकनको माग गरेको एमाओवादीबीचको यो भेटलाई महत्वका साथ हेरिएको छ । वैद्य नेतृत्वको मोर्चाले चुनाव बहिष्कार गरेको थियो भने चुनावी परिणाम आफ्नो पक्षमा नआएपछि एमाओवादीले मतगणना बहिष्कार गरी संविधानसभामा भाग नलिने घोषणा गरेको छ ।
केही समयअघिदेखि यी दुई पार्टीका नेताहरूबीच चुनावी विषयलाई नै लिएर सार्वजनिक रूपमा कटाक्षसमेत हँुदै आएको थियो । तर, चुनावमा एमाओवादीले अप्रत्यासित परिणाम बेहोर्दै प्रत्यक्षतर्फ तेस्रो स्थानमा मात्र आएपछि दाहाल वैद्यसँग परामर्श गर्न पुगेका हुन् । यसअघि राष्ट्रपति डा. रामवरण यादवसँग परामर्श गरेका दाहालले आइतबार धोबीघाटस्थित एमाओवादी नेता कृष्णबहादुर महराको निवासमा वैद्य पक्षसँग भेटवार्ता गरे । एमाओवादीका तर्फबाट अध्यक्ष दाहाल, वरिष्ठ नेता डा. बाबुराम भट्टराई र महरा तथा माओवादीका तर्फबाट अध्यक्ष वैद्य र महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ वार्तामा सहभागी थिए ।
यो वार्ताले दुई धु्रवमा पुगेका पार्टीहरूबीचको दूरी कम गर्न खोजेको देखिएको छ । सार्वजनिक कार्यक्रममा वैद्यप्रति निक्कै आक्रामक देखिँदै आएका दाहालले आइतबारको भेटमार्फत माओवादीलाई पनि साथमै लिएर संविधानसभा वा संविधानसभाबाहिर नै भए पनि आफ्नो स्थितिलाई बलियो बनाउने पहल थालेका हुन् ।
भेटमा दाहालले वैद्यप्रति नम्र हुदै सोचविचार नगरी चुनावमा जाँदा गल्ति गरेको स्वीकारसमेत गरेको वार्तामा सहभागी एक नेताले बताए । ‘तपाईंहरूले चुनावमा नजानुस् भनेर भन्दा पनि हामी गयौंँ,’ भेटमा सहभागी एक नेताले अध्यक्ष दाहालको भनाइ उदधृत गर्दै सौर्यलाई भने, ‘धाँधली गरेर फसाए, विचार नगरी गइएछ गल्ति भयो ।’
माओवादी सचिव देव गुरुङले भने एमाओवादी नेतृत्वसँगको भेटमा पछिल्लो राजनीतिक अवस्था, चुनावी प्रक्रिया र संविधानसभाको विषयमा छलफल भएको बताए । पार्टी एकीकरण र आगामी मोर्चाबन्दीका विषयमा छलफल नभएको दाबी गर्दै नेता गुरुङले दाहाल पक्षले चुनाव धाँधली भएको भन्दै त्यसविरुद्ध लडिरहेको जनाएको जानकारी दिए ।
एमाओवादीले चुनावमा भएको धाँधलीविरुद्ध लडिरहेको भन्दै सहकार्य गरेर अघि बढ्न सक्नेमा जोड दिएका थिए । संविधानसभाबाट संविधान नै जारी हुन नसक्ने भउकाले आफूहरूले पहिलेदेखि नै राउन्ड टेबलबाट मात्रै संविधान निर्माण गर्न सकिने भन्दै आएको जवाफ दिएको गुरुङले जानकारी दिए ।

प्रतिक्रिया