धुर्कोट : संविधानसभा निर्वाचनमा गुल्मी जिल्लाबाट उम्मेदवार बनेका एकीकृत नेकपा (माओवादी) का तीनैजना उम्मेदवारले चुनावमा पराजित भए पनि आफूहरू गाउँको विकासका कामबाट टाढा नहुने बताएका छन् ।
निर्वाचनको परीणाम आफ्नो पक्षमा नपरे पनि एमाओवादी उम्मेदवारहरूले आफूहरू अब गाउँका जनताको जनजीविका र विकासमा दत्तचित्त भएर लाग्ने बताएका हुन् ।
गुल्मी क्षेत्र नं १ का उम्मेदवार सुदर्शन बराल, २ का अशोक थापा र ३ का वामदेव क्षेत्रीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी ऐतिहासिक संविधानसभाको निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि सबै जनता र एकीकृत नेकपा (माओवादी)लाई मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गरेका छन् ।
पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका गुल्मी क्षेत्र नं ३ का उम्मेदवार क्षेत्रीले निर्वाचनको परीणाम अनपेक्षित आए पनि आफू गुल्मेली जनतासँगै रहेको र जनताको सुखदु:ख र विकासमा सधैँ साथ दिने बताए ।
चुनावी परिणामबाट विचलित नभई लक्ष्य प्राप्तिका लागि अघि बढ्न उहाँले जनतालाई हार्दिक अपिलसमेत गर्नुभएको छ । यस्तै पार्टी जिल्ला संयोजकसमेत रहनेका क्षेत्र नं १ का उम्मेदवार बरालले सधैँ जनताका माझ रहने प्रतिबद्धता व्यक्त गरे ।
क्षेत्र नं २ का क्षेत्रीय संयोजक तथा उम्मेदवार थापाले आफू पराजित भए पनि जनताको सेवा र विकासमा लागिरहने उल्लेख गर्दै चुनावको बेला आफ्नोतर्फबाट भएका कमी कमजोरीको समीक्षा गरी कारबाही भोग्न तयार हुने बताउनुभयो ।
प्रतिक्रिया