प्रथम नेपाल जुनियर खुला लनटेनिस प्रतियोगिता सम्पन्न

tennisकाठमाडौं, ९ मंसिर । संरक्षकभूषण वज्राचार्यले प्रथम नेपाल जुनियर खुला लनटेनिस प्रतियोगिताको यु–१८ ब्वाइज सिंगल्सको उपाधि शनिबार जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा १२ वर्षीय संरक्षकले गणेश कार्कीलाई ६–१ र ६–१ ले सजिलै पराजित गरे । टेनिस प्रशिक्षक सूर्यभूषण वज्राचार्यका अनुसार नेपाली टेनिसको इतिहासमा १२ वर्षीय खेलाडीले पहिलोपटक यु–१८ उमेरसमूहमा प्रतिस्पर्धा गरी उपाधि जितेको यो पहिलो अवसर हो । संरक्षकले प्रतियोगितामा दोहोरो उपाधि हात पार्न सफल भए । उनले यु–१२ ब्वाइज सिंगल्समा पहिलो स्थान हात पारेका थिए ।
यु–१० ब्वाइज सिंगल्समा संरक्षककै भाइ सम्यकले बाजी मारे । उपाधि भिडन्तमा सम्यकले आदित सुवेदीको चुनौती ८–५ ले समाप्त पारे ।
सक्षम कार्की यु–१४ ब्वाइज सिंगल्स च्याम्पियन बने । उनले अन्जन थिङलाई ६–३ र ६–४ को सोझो सेटमा हराए । सक्षमले आभाष मल्लसंग मिलेर यु–१८ ब्वाइज डबल्सको उपाधि पनि जिते ।
यु–१४ गल्र्स सिंगल्समा मायांका राणा पहिलो भइन् । प्रतियोगिताकै अन्तिम फाइनलमा मायांकाले विभूति कार्कीमाथि ६–१ र ६–१ को सहज जित दर्ता गरिन् । मायांका यु–१८ गल्र्स डबल्समा पनि पहिलो भएकी थिइन् । उनको ‘पार्टनर’ जुम्ल्याहा बहिनी माहिका थिइन् ।
प्रतियोगितामा १३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । अन्य स्पर्धाको यु–८ सिंगल्सको ब्वाइजमा अकी जुवेन राउत र गल्र्समा इशाश्री शाह, यु–१० सिंगल्सको गल्र्समा अभिलाषा विष्ट, यु–१२ गल्र्स सिंगल्समा एनी माथेमा तथा यु–१६ ब्वाइज सिंगल्समा आभाष मल्लले शीर्ष स्थान हात पारेका थिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, अखिल नेपाल लनटेनिस संघका अध्यक्ष मनोजशम्शेर जंगबहादुर राणा र उपाध्यक्ष ज्योति राणा, अभिभावकका तर्फबाट सुमित गिरी, शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, प्रतियोगिता संयोजक अजय विष्टलगायतले पुरस्कार प्रदान गरे । सोही अवसरमा विभिन्न ३६ प्रायोजक संस्थालाई आयोजकको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
जुनियर टेनिस खेलाडीहरुका अभिभावकको सक्रिएतामा आयोजित प्रतियोगितामा १ सय २६ ब्वाइज र १ सय गल्र्स गरी २ सय २६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंसिर १ गतेदेखि सुरु प्रतियोगिताको कूल नगद पुरस्कार राशी ९६ हजार रुपैयाा रहेको थियो । सबै १३ विधामा नगद पुरस्कार राखिएको थियो ।
पुरस्कार वितरणपछि सदस्य–सचिव लामाले अभिभावकको सक्रिएतामा प्रतियोगिता हुनु सुखद पक्ष भएको बताउदै यसले समाजमा राम्रो सन्देश प्रवाह गरेको धारणा राखे ।

प्रतिक्रिया