अन्य दुई दल पनि प्रक्रियाबाट बाहिर

काठमाडौ, ८ मंसिर । मधेसी जनाधिकार फोरम, नेपाल र सङ्घीय गणतान्त्रिक समाजवादी पार्टी, नेपालले निर्वाचनमा धाँधली भएको भन्दै चुनावको सम्पूर्ण प्रक्रियाबाट बाहिरिने जनाएका छन् ।

सो पार्टीले शुक्रवार संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरीसर्लाही र धनुषा लगायतका जिल्लामा निर्वाचनमा धाँधली भएको भन्दै विरोध जनाएका हुन् । मधेसी जनाधिकार फोरम, नेपालका प्रवक्ता रत्नेश्वरलाल कायस्थले भने “निर्वाचनको दिन मङ्सिर ४ चार गते सर्लाहीको धनकौल गाविसमा गोली चली कार्यकर्ता घाइते भई पार्टी प्रतिनिधिले विरोध गरिरहँदा पनि सुरक्षाकर्मी र खटिएका कर्मचारीको मिलेमतोमा बुथ कब्जा गरी मत खसाल्ने काम भयो, त्यसको विरोधमा सदरमुकामसम्म र केन्द्रीय निर्वाचन आयोगमा उजुरी गर्दा पनि कुनै सुनुवाइ भएन् ।”
प्रवक्ता कायस्थले धनुषा क्षेत्र नं ५ का अधिकृतले मतपत्र खसि सकेपछि बाँकी मतपत्रमा सही गरिराखेको पाइएको र कतिपय ठाउामा धेरैजसो मतपेटिकामा एउटै पार्टीको अत्यधिक मतपत्र खसेको पाइकाले मतदान प्रक्रिया अत्यन्त संदेहात्मक र षड्यन्त्रमूलक भएको दावी गरे । सङ्घीय गणतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष परशुराम तामाङले देशका अधिकांश निर्वाचन क्षेत्रमा पार्टी प्रतिनिधिविना नै मतपेटिका गाउँको दूरदराजबाट अलग सेनाको नियन्त्रणमा राख्नु, सिलबन्दी तोडिएको मतपेटिकासमेत मान्नुपर्ने आयोगको निर्देशनलाई हेर्दा निर्वाचनमा धाँधली भएको छ, भने ।
मतगणना प्रक्रिया बहिष्कार
वीरगन्ज (पर्सा) : वीरगन्जको ठाकुरराम क्याम्पसमा जारी मतगणना कार्यप्रति असन्तुष्ट जनाउदै मधेसी जनअधिकार फोरम नेपालले मतगणना बहिष्कार गरेको छ । विशेषगरी पर्सा क्षेत्र नं २ मा जारी रहेको मतगणनाको प्रक्रियामा असहमति जनाउँदै फोरम नेपाल गणनास्थलबाट जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । वीरगन्ज उपमहानगरपालिका वडा नं १६ मा षडयन्त्र गरिएका कारण आफूहरूले मतगणना बहिष्कार गरेको सो पार्टी पर्साका अध्यक्ष एवम् क्षेत्र नम्वर २ का उम्मेदवार प्रदीप यादवले जानकारी दिए । बिहान ११ बजेसम्म प्रदीप यादवले पाँच हजार ९ सय ६६ मत प्राप्त गरेका थिए । यद्यपि नेकपा (एमाले)का बिचारी यादव छ हजार ८ सय ३६ मत ल्याउनु भई पहिलो स्थानमा थिए । फोरम नेपालले बहिष्कार गरेपनि मतदान अधिकृतले मतगणना प्रकृया जारी राखेका थिए ।

प्रतिक्रिया