एमाले दुबै क्षेत्रमा विजयी

खोटाङ, ८ मंसिर । संविधानसभाको दोश्रो निर्वाचनमा खोटाङको दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर–१ बाट पाचकर्ण राई “पिके” र क्षेत्र नम्बर–२ बाट विशाल भट्टराई विजयी भएका हुन । क्षेत्र नम्बर–१ मा आफ्नो निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नरेशकुमार श्रेष्ठलाई ९८३ मतले पछि पार्दै “पिके” विजयी बनेका हुन भने, क्षेत्र नम्बर–२ का कांग्रेसकै अर्का उम्मेदवार विष्णुकुमार राईलाई ४ हजार ९१५ मतले पछि पार्दै भट्टराई विजयी भएका छन् ।

“पिके” ले १० हजार ८२४ मत र भट्टराईले १४ हजार ३७ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार एमालेको निकटतम् प्रतिद्वन्दी कांग्रेसको तर्फबाट क्षेत्र नम्बर–१ का उम्मेदवार नरेश श्रेष्ठले ९ हजार ८४१ र क्षेत्र नम्बर–२ का उम्मेदवार राईले ९ हजार १२२ मत प्राप्त गरेका छन् ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयमा औपचारिक कार्यक्रम गरी विजयी उम्मेदवारहरुलाई संबिधानसभाको सदस्यको प्रमाणपत्र प्रदान गरिएको छ । कूल ९९ हजार ६ सय ६२ मतदाता रहेको जिल्लामा यसपटक एमालेले विगतको इतिहासलाई पुनस्र्थापित गरेको छ ।
अघिल्लो संविधानसभाको निर्वाचनमा दुकै क्षेत्रमा पराजय भोगेको पार्टीले यसपटकको निर्वाचनमा सफलता प्राप्त गरेको छ । अघिल्लो संविधानसभामा दुवै क्षेत्र जितेको एकीकृत नेकपा माओवादी यसपल्ट तेश्रो स्थानमा झरेको छ ।
एकीकृत नेकपा माओवादीका तर्फबाट क्षेत्र नम्बर–१ का उम्मेदवार दुर्गाजयन्ती राईले ७ हजार ५०१ र क्षेत्र नम्बर २ का उम्मेदवार देवान चाम्लिङ “पृथ्वी”ले ६१५४ मत प्राप्त गरिन् ।
२०६४ सालमा भएको संविधानसभाको निर्वाचन तथा २०५६ सालमा भएको संसदीय निर्वाचनमा दुवै क्षेत्रमा पराजय भोगेको एमालेले संगठन सुदृढीकरणको अभियान सञ्चानल गर्दै आफ्नो पार्टीलाई विजयी बनाएको एमाले जिल्ला सचिव राजन राईले बताए ।
क्षेत्र नम्बर–१ का पाँचकर्ण राई “पिके” लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय कार्यकर्ता हुन् भने, एमालेको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका भट्टराईले जिल्ला पार्टीको उपसचिव, सचिव हुँदै जिल्ला अध्यक्षको पदमा रहेर काम गर्दै आएका थिए । जिल्लामा १२ दलका २४ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रतिक्रिया