हाइटीबाट नेपाली सेना फर्काइने

Army-nepalकाठमाडौं, ७ मंसिर । क्यारेबियन गणतान्त्रिक मुलुक हाइटीमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको बटालियन फिर्ता हुने भएको छ ।

नेपाली सेनाको उच्च स्रोतका अनुसार संयुक्त राष्ट्रसंघले पहिलो चरणमा नेपालसहित जोर्डन, उरुग्वे, पाराग्वे, चिली, इक्वेडर, इन्डोनेसियन इन्जिनियर बटालियन र ब्राजिलको आधा फौजलाई फिर्ता गर्ने निर्णय गरेको हो । नेपाली सेनासहित जोर्डन, चिली र इक्वेडर फेब्रुअरीमा, उरुग्वे र इन्डोनेसियन बटालियन अप्रिलमा र बाज्रिलको फौज मे महिनामा आआफ्नो मुलुक फर्कने सैनिक स्रोतले जनाएको छ । हाइटीबाट नेपाली सेनाको ३ सय ५० जनाको बटालियन, जोर्डनको २ सय ४२ जना, चिलिको ३० जना, उरुग्वेको ३ सय ३९ जना इन्डोनेसियाको १ सय ६७ जना र पाराग्वेको ४८ जना सेना स्वदेश फर्कने भएका छन् ।
लामो समयदेखि अस्थिर हाइटीमा २० मुलुकका सेना तैनाथ छन् । गत ३० जुनमा सुरक्षा परिषदको बैठकले सुरक्षा परिषदको प्रस्ताव नम्बर २११९ अनुसार फौज घटाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार पहिलो चरणमा विभिन्न देशका १ हजार २ सय ४९ सेनालाई फिर्ता पठाउने निर्णय राष्ट्रसंघले गरेको हो । राष्ट्रसंघ हाइटीमा २०१६ भित्र त्यहास्थित ‘मिनुस्ता मिसन’ बन्द गर्ने तयारीमा छ ।
हाइटीमा रहेको मिनुस्ता मिसनको आकार घटाउने राष्ट्रसंघको नीतिअनुसार हाइटिमा तैनाथ विभिन्न देशका सेना फिर्ता पठाउने निर्णय भएको भनिए पनि नेपाली सेनालाई भने राम्रो काम गर्दा गर्दै पहिलो चरणमै फिर्ता पठाइनुलाई आश्र्चयका रुपमा हेरिएको छ । नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार नेपाली सेनालाई हाइटीमा हैजा फैलाएको आरोप लागेकाले पहिलो चरणमै फिर्ता पठाइन लागिएको हो ।
नेपाली सेना हाइटीमा अपरेशन र पेशागत दक्षताको हिसाबले उत्कृष्ट सेना मानिन्छ । नेपाली सेनाको बटालियनलाई फिर्ता पठाउनु हैजा फैलाएको भन्ने आरोप नै भएको सेनाका उच्च अधिकारीको दावी छ ।
राष्ट्रसंघको आह्वानमा बटालियन तहको नेपाली सेनाको टोली पहिलोपटक सन् २००४ मा हाइटीको मिरावोलिसमा तैनाथ भएको थियो । जसमा अधिकृत र अन्य दर्जाका गरी ८ सय ५० जनााको संख्या रहेको थियो । हाइटीमा सन् २०१० मा आएको शक्तिशाली महाभूकम्पपछि फैलिएको झाडापखालाले हजारौ नागरिकको ज्यान गएको थियो । झाडापखाला नेपाली सेनाको क्याम्पबाट फैलिएको स्थानियले आरोप लगाएपनि अनुसन्धानवाट त्यसको पुष्टि भने भएको थिएन् ।
नेपाली सेना र राष्ट्रसंघले हाइटीका बासिन्दा र विपक्षी पार्टीहरुको आरोपलाई अस्विकार गरेका थिए । सन् २०१० सम्म हाइटीको मिरावोलिसमा नेपाली सेनाको १३ बटालियन शान्ती स्थापनार्थ खटिएर स्वदेश फर्किसकेका छन् ।
झाडापखालाको आरोपपछि राष्ट्रसंघले २०११ मा नेपाली सेनाको मिरावोलिसमा रहेको ठुलो बटालियनलाई फिर्ता पठाउने निर्णय गरेको थियो । सेनाको ठुलो बटालियन फिर्ता भए पनि सन् २००७ देखी नै हाइटीको राजधानी पोर्ट अफ प्रिन्समा सेनाको लाइट इन्फेन्ट्री बटालियन कार्यरत थियो । उक्त बटालियनले हाइटीमा मिनुस्ता मिसनको म्यान्डेटअनुसार काम गर्दै आएको थियो । १३ वटा लाइट इन्फेन्ट्री बटालियनले हाइटीमा काम गरिसकेका छन् ।
राष्ट्रसंघले २०१६ सम्म हाइटी मिसनको डाउन साइजिङ गर्ने योजनाअनुसार विभिन्न देशको फौजलाई कटौती गरिरहेको बताउदै आएको छ । राष्ट्रसंघले २०१६ पछि हाइटीमा सानो मिसन मात्र राख्ने तयारी गरिरहेको छ । हाइटीमा सरकार राष्ट्रसंघलाई अझै केही समयसम्म राख्ने पक्षमा रहे पनि त्यहाको विपक्षी पार्टीहरुले भने मिसनलाई फिर्ता पठाउनुपर्ने आवाज उठाउदै आएका छन् ।
हाइटीमा कार्यरत मिनुस्ता मिसनलाई हटाउन पूर्वराष्ट्रपती एरिष्ट्रीडको लाभालास पार्टीले अभियान जारी राखेको छ । मिनुस्ता मिसनले हाइटीको विकासमा खर्च नगरेको आरोप लगाउदै विपक्षीले मिसर्न हटाउनुपर्ने धारणा राख्दै आएका छन् । उनिहरुले झाडापखाला राष्ट्रसंघले फैलाएको भन्दै मिसन फिर्ता गर्नु पनि माग राख्दै आएका छन् ।

प्रतिक्रिया