काठमाडौं, ६ मंसिर । एमालेले निर्वाचन परिणाम आफ्ना बिरुद्ध आउन थाले पछि एमाओवादी हतास भएको टिप्पणी गरेको छ ।
एमाले अध्यक्ष झलनाथ खनालले आज (बिहीबार) विज्ञप्ति जारी गरेर संविधानसभामा सहभागी नहुने एमाओवादीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए । ‘निर्वाचन परिणाम आउन थालेको अवस्थामा प्राप्त परिणामबाट हतास भएर मतगणना प्रकृया बहिस्कार गर्ने एमाओवादीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ खनालले भनेका छन् ।
‘२०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा पार्टीका शीर्षस्थ नेताहरु पराजित परिणामलाई समेत स्वीकारका थियो,’ उनले भनेका छन्, ‘संविधान निर्माण प्रकृयामा इमान्दारी पूर्वक भूमिका निर्वाह गरेको तथ्यप्रति एमाओवादीलाई स्मरण गराउन चाहन्छु ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुद्वारा समेत निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र धाँधली रहित तरिकाले सम्पन्न भएको तथ्यहरु सार्वजनिक भइरहेको उनले बताए ।
‘एमओवादीले अचानक मतगणना प्रकृया बहिस्कार गर्ने, संविधानसभामा सहभागी नहुने जस्तो जनमतलाई अपमानित गर्ने गलत निर्णय गरेको छ,’ उनले भने ।
प्रतिक्रिया