संविधान बनाइछाड्ने कोइरालाको अठोट

Sushil Koirala 3काठमाडौं, ६ मंसिर । कांग्रेस सभापति सुशील कोइरालाले अब गठन हुने संविधानसभाबाट बहुलवादसहितको लोकतान्त्रिक मूल्य–मान्यता तथा आदर्श स्थापित गर्ने संविधान निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

सभापति कोइरालाले बुधबार विज्ञप्तिमार्फत दोस्रो संविधानसभा चुनाव सफलतापूर्वक सम्पन्न भएकामा आभार व्यक्त गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् । मुलुकमा शान्ति र स्थिरता कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने उद्देश्यका ४ मंसिरमा संविधानसभा चुनाव भएको कोइरालाको विज्ञप्तिमा उल्लेख छ । ‘अघिल्लो संविधानसभाले संविधान दिन नसकी राजनीतिक प्रक्रिया अवरुद्ध हुन पुगेको अवस्थामा गरिएको दोस्रो संविधानसभा चुनावमा उत्साहपूर्वक सहभागी भई आºनो अमूल्य मत दिनुभएकामा सम्पूर्ण दिदीबहिनी, दाजुभाइ एवं आममतदातामा हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
यो चुनावले मुलुकलाई राजनीतिक दिशा र गति दिने विश्वास लिएको उल्लेख गर्दै उनले चुनावका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेर यो अभियानलाई सफलतापूर्वक सम्पन्न गरेकामा सरकार, निर्वाचन आयोग, सबै सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, पत्रकारलगायतलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया