सहमति अपरिहार्य : वैद्य

Mohan-Baidhyaकाठमाडौं, ६ मंसिर । नेकपा–माओवादीले राजनीतिक संकट समाधानका लागि राष्ट्रिय सहमति अपरिहार्य रहेको जनाएका छन् ।

यातायात बन्ददेखि आमहडतालका कार्यक्रमसम्म गरे पनि दोस्रो संविधानसभा चुनाव ऐतिहासिक रूपमा सम्पन्न भएको भोलिपल्ट बुधबार माओवादी अध्यक्ष मोहन वैद्यले सहमति निर्विकल्प रहेको बताएका हुन् । जनयुद्धमा संलग्न शक्तिलाई निषेध र जनयुद्ध तथा जनआन्दोलनमा अभिव्यक्त जनादेशको अवज्ञा गरेर शान्तिप्रक्रियाले पूर्णता प्राप्त गर्न नसक्ने दाबी गर्दै अध्यक्ष वैद्यले यस विषयमा गम्भीरतापूर्वक सोच्न सबैसित आग्रह गरेका छन् ।
उनले दोस्रो संविधानसभाबाट पनि जनताको संविधान बन्न नसक्ने दाबी गरेका छन् । ‘दोस्रो संविधानसभा निर्वाचनको जति गुणगान गरिए पनि वैदेशिक शक्तिकेन्द्रको इशारामा चल्ने राष्ट्रघाती तथा जनविरोधी तत्वहरूको प्रभुत्व हुने त्यसप्रकारको संविधानसभाबाट पनि जनताको संविधान बन्न नसक्ने कुरा सुनिश्चित छ,’ वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसप्रति सतर्क रहन हामी सबै देशभक्त, जनवादी तथा वामपन्थी शक्तिसित विनम्र अनुरोध गर्दछौँ ।
माओवादीले जनताको संविधान निर्माणका लागि जनसमुदायसमक्ष पुन: प्रतिबद्धता जाहेरसमेत गरेको छ । माओवादीले अघोषित संकटकालको कार्यान्वयन, सेना परिचालन तथा राज्यशक्तिको अधिकतम दुरुपयोग गर्दै जनसमुदायलाई भयभीत तुल्याई एवं बहिष्कार आन्दोलनमा संलग्न प्रतिपक्षीय शक्तिलाई सडकमा आउनै नदिई सैन्य घेराभित्र गरिएको भन्दै चुनावलाई ‘अभूतपूर्व रूपमा सफल’ भएको र ७० प्रतिशत मतदान गरिएको भनी भ्रम सिर्जना गर्ने दुष्प्रयास गरिएको विज्ञप्तिमा उल्लेख छ । बहिष्कार आन्दोलनमा ५ सयभन्दा बढी नेता–कार्यकर्तालाई गिरफ्तार गर्ने र झुटा मुद्दा लगाउने काम गरिएको भन्दै त्यसको दृढ विरोध गर्दै सबैको शीघ्रातिशीघ्र रिहाइको मागसमेत गरेको छ ।

प्रतिक्रिया