काठमाडौं, ५ मंसिर । काठमाडौं लगायत मुलुक भरिका १५ जिल्लामा मतगणना सुरु भएको छ । निर्वाचन आयोगका अनुसार १५ जिल्लाका ३८ क्षेत्रमा मतगणना भएको छ । मुलुक भरिका दुई सय चालीस क्षेत्रमा मंगलबार मतदान भएको थियो ।
देश भरिका २ सय ४० निर्वाचन क्षेत्र मध्ये धनुषा जिल्ला–४, रौतहट–१ र काठमाडौं–२, ३ र ४ मा मतगणना कार्य सुरु भएको छ ।
धनुषामा विहान आठ बजेर ४० मिनट र रौतहटमा १० बजेबाट मतगणना सुरु भएको निर्वाचन आयोगद्वारा जारी बुलेटिनमा उल्लेख छ । मतदानस्थलहरुबाट मतपेटिका सदरमुकाम ल्याउने कार्य मंगलबार रातिनै पुरा भएकाले ती क्षेत्रमा विहानैदेखि मतगणना सुरु भएको हो ।
काठमाडौं सहितका २७ जिल्लाका सबै निर्वाचन क्षेत्रका सम्पूर्ण मतदानकेन्द्रका मतपेटिका सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा जम्मा भएका छन् ।
झापा, धनकुटा, मोरङ्ग, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, नुवाकोट, काठमाडौं र भक्तपुरका सबै मतपेटिका संकलन भइसकेका छन् ।
सिन्धुपाल्चोक, रौतहट, कास्की, स्याङजा, पाल्पा, रुपन्देही, कपिलवस्तु, पर्वत, दाङ, सुर्खेत, बाँके, बर्दिया, कन्चनपुर, बारा र पर्सा जिल्लाका पनि सबै क्षेत्रबाट मतपेटिका सदरमुकाम ल्याउने कार्य पुरा भएको छ । सर्वदलीय बैठक सकिएकाले काठमाडौंका अरु क्षेत्रको मतगणना पनि केही बेरपछिनै सुरु हुंदैछ ।
पूर्वको इलाम देखि पश्चिमको कैलालीसम्मका नौ जिल्लामा मतपेटिका संकलनको काम आंशिकरुपमा मात्र पुरा भएका छन् । इलामको क्षेत्र नम्बर १ र २ का सबै मतपेटिका संकलन भएपनि क्षेत्र नम्बर ३ का केही मतपेटिका सदरमुकाम आइपुग्न बाँकी छ । उदयपुरको क्षेत्र नम्बर १ को मतपेटिका संलकन भएपनि २ र ३ क्षेत्रको बाँकी छ ।
गोरखा–३ को मतपेटिका प्राप्त भएपनि क्षेत्र नम्बर १ र २ को बाँकी छ । गुल्मी–२ बाट सबै मतपेटिका प्राप्त भएपनि क्षेत्र नम्बर १ र ३ को संकलन पुरा हुँन बाँकी छ ।
नवलपरासीको क्षेत्र नम्बर २, ४, ५ र ६ का सबै मतपेटिका प्राप्त भएपनि क्षेत्र नम्बर १ र २ को संकलन हुन बाँकी रहेको आयोगले जनाएको छ ।
बागलुङको क्षेत्र नम्बर १ को मतपेटिका संकलन पूरा भएपनि २ र ३ मा जारी छ । त्यसैगरी बझाङ–२ को सबै मतपेटिका प्राप्त भएपनि क्षेत्र नम्बर १ को संकलन कार्य जारी छ । डोटीमा पनि क्षेत्र नम्बर १ का सबै मतपेटिका प्राप्त भएका छन् भने क्षेत्र नम्बर २ को पूरा हुन बाँकी छ । कैलालीको क्षेत्र नम्बर १, २, ३ र ६ का सबै मतपेटिका प्राप्त भएपनि क्षेत्र नम्बर ४ र ५ का केही मतपेटिका सदरमुकाम आउने क्रममा छन् । जिल्लाको एक क्षेत्रका सबै मतदानकेन्द्रका मतपेटिका सदरमुकामा ल्याउने कार्य सम्पन्न भएलगत्तै उक्त क्षेत्रको मतगणना कार्य सुरु हुनेछ ।
उच्च हिमाली र अति दुर्गम क्षेत्रमा भौगोलिक विकटताका कारण मतपेटिका संकलनमा कठिनाई र ढिलाई हुने भएकाले हेलिकप्टरको प्रयोग गरिँदैछ । ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, मनाङ, रुकुम, बझाङ, बाजुरा, मुस्ताङ, गोरखा, डोल्पा, हुम्ला, कालिकोट, मुगुसहितका जिल्लाहरुमा हेलिकप्टरबाट मतपेटिका संकलन गर्ने कार्य सुरु भएको छ ।
प्रतिक्रिया