चर्को भाडा असुले पर्यटक बसले

Tourist-Busकाठमाडौं, ५ मंसिर । हिजो मंगलबार संविधानसभाको निर्वाचन भएकाले सार्वजनिक तथा निजी यातायातका साधन सञ्चालन भएन । सञ्चालन भएका विभिन्न सवारीसाधनहरू पनि सरकारको स्वीकृति लिएका थिए । सीमित मात्रामा चलेका पर्यटक बसले यात्रुबाट चर्को भाडा असुल्न सफल भएको समाचार प्राप्त भएको छ ।

राजधानीका विभिन्न स्थानमा पुग्नका लागि स्वदेशी तथा विदेशी नागरिकले पर्यटक बसलाई पाँचौ गुणा बढीसम्म भाडा तिर्नुपरेका थियो ।विशेषगरी हवाईयात्रुलाई भने यसबाट मर्का परेको देखिन्थे । स्वदेश भित्रिने तथा बाहिरिने विदेशी पर्यटकहरुका लागि लक्षित गरी नेपाल पर्यटन बोर्डले सञ्चालन गरेका बसहरुले पनि यात्रुहरूलाई चर्को भाडा लिएर सेवा प्रदान गरे । दिउँसो एयरपोर्ट पुग्दा सर्वसाधारण यात्रुबाट पर्यटक बसले चर्को भाडा लिएको गुनासो सुनियो । पर्यटन बोर्डले सञ्चालन गरेका बसहरूले समेत यातायात नचलेको बाहना बनाई चर्को भाडा असुलेको खाडी मुलुकबाट आएका नेपालीहरूले बताए ।
पर्यटक बसहरूले एयरपोर्टबाट नयाँ बसपार्कसम्म पुगेको ५ सयदेखि एक हजार रुपियाँसम्म असुलेको यात्रुहरुको गुनासो थियो । चर्को भाडा लिएपछि यात्रुहरु निकै आक्रोशित देखिन्थे । विदेशी पर्यटकसमेत चर्को भाडा असुलिएको भन्दै गुनासो गरिरहेका थिए ।
अन्य दिनभन्दा सुनसान देखिएको एयरपोर्टमा पर्यटक बसहरू भने प्रशस्त देखिन्थे । यात्रुहरू आआफ्नो लगेज समालेर एअरपोर्टमै बसिरहका देखिन्थे । सवारीसाधन नपाइने पाइए पनि सोच्नै नसकिने भाडा भनेपछि उनीहरू समस्यमा परेका थिए । यसैबीच केही यात्रुहरू भने चर्को भाडा तिर्नुभन्दा हिँड्नु जातीभन्दै हिँडिरहेको भेटिएका थिए । ‘आफूले सोच्नै नसक्ने भाडा तिर्नुभन्दा हामी त हिँडेरै गन्तव्य पुग्ने जमर्को गरेका हौँ,’ एयरपोर्टबाट गन्तव्यतिर गएका यात्रुहरू भन्दै अगाडि बढेको देखिन्थ्यो ।
पर्यटकलाई बोर्डद्वारा यातायात सुविधा प्रदान
काठमाडौं : चुनावको दिन पर्यटकहरुलाई असुविधा नहोस् भनेर नेपाल पर्यटन बोर्डले यातायातको सुविधा प्रदान गरेको छ । बोर्डले ५ वटा ठूला बस र ३५ वटा हाइसमार्फत पर्यटकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।
खासगरी चुनावको समयमा निजी तथा सार्वजनिक यातायातका साधन नचल्ने हुँदा पर्यटकलाई यातायातको सुविधा उपलब्ध गराएको बोर्डका मिडिया कन्सलटेन्ट शरद प्रधानले जानकारी दिए । काठमाडौं उपत्यकाभरि पर्यटकलाई यातायातको सुविधा उपलब्ध गराउने उनको भनाइ थियो । बोर्डले सञ्चालन गरेका बसहरुले एयरपोर्टबाट होटलसम्म र होटलबाट एयरपोर्टसम्म यातायातको सुविधा उपलब्ध गराएका थिए ।

प्रतिक्रिया