उत्साहपूर्वक मतदान

Matadan-in-Vally-Ktmकाठमाडौं, ५ मंसिर । दोस्रो संविधानसभा चुनाव मंगलबार ऐतिहासिक रूपमा सम्पन्न भएको छ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले अवरोध पुर्‍याएको भए पनि मतदाता चुनावमा उत्साहपूर्वक सहभागी भएका थिए ।

निर्वाचन आयोगले १ करोड २१ लाख ४७ हजार ८ सय ६५ कुल मतदाता रहेकोमा मुलुकभरबाट ७० प्रतिशतभन्दा बढी मत खसेको पूर्वानुमान गरेको छ । ‘नेपालको चुनावको इतिहासमा यो सबैभन्दा बढी हो,’ प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मंगलबार साँझ आयोग परिसरमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘मतदाता परिचयपत्रको व्यवस्था र मतदाता नामावलीमा गरिएको सुधारले यो सफलता प्राप्त भएको हुन सक्ने अनुमान गरेका छौं ।’
प्रमुख आयुक्त उप्रेतीका अनुसार अघिल्लो संविधानसभा चुनावको तुलनामा करीब १० प्रतिशत बढी मतदाताले मत खसालेका छन् । अघिल्लो चुनावमा ६१ दशमलव ७ प्रतिशत मत खसेको थियो । उक्त चुनावमा समानुपातिकतर्फ ६३ दशमलव ३ प्रतिशत मत खसेको थियो । त्यसैगरी ०५६ को आमचुनावमा ६५ दशमलव ६९, ०५१ को मध्यावधि चुनावमा ६१ दशमलव ६८ र ०४८ को आमचुनावमा ६८ दशमलव १५ प्रतिशत मत खसेको थियो । यसपटकको खसेको मत प्रतिशत अझै बढी हुन सक्ने आयोगको अनुमान छ ।
उप्रेतीले सङ्क्रमणकालिन अवस्थामा गरिएको चुनावमा पनि उत्साहजनक मत खसेको र चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रतिक्रिया दिए । ‘रोल्पा जिल्लाको थवाङ गाविसमा कुनै पनि मतदाताले मतदान गरेनन्,’ उनले भने, ‘उक्त घटनालाई हामीले अपवादका रुपमा लिएका छौं ।’
उनले जुम्लाको त्रिभुवन उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध भएको जानकारी दिए । अन्य कुनै पनि स्थानमा मतदान प्रक्रिया अवरुद्ध नभएको उनको भनाई छ । ‘मतदाता लोकतान्त्रिक विधिलाई पूर्ण प्रयोग गरेर विग्रिएको राजनीतिलाई ठिक बाटोमा ल्याउन आतुर छन भन्ने कुराको सङ्केत यो चुनावले देखाएको छ,’ उनले भने ।
आयोगले १० दिनभित्र सबै जिल्ला र क्षेत्रको चुनावी परिणाम सार्वजनिक भइसक्ने जनाएको छ । समानुपातिकमा १२२ दलका १०७०९ र प्रत्यक्षतर्फ १३० दलका ६१२८ उम्मेदवार चुनावी मैदानमा छन् । यो चुनावबाट प्रत्यक्षतर्फ २४०, समानुपातिकमा ३३५ र मनोनीत २६ गरी ६०१ सदस्यीय संविधानसभा गठन हुनेछ । राजनीतिक दलहरुले दोस्रो संविधानसभाबाट एक वर्षभित्र नयाँ संविधान जारी प्रतिबद्धता जनाइसकेका छन् । यसअघि २८ चैत २०६४ मा भएको चुनावपछि गठित संविधानसभा गत १४ जेठमा संविधान नै जारी नगरी विघटन भएको थियो ।
उजुरीबारे आयोग अनभिज्ञ
एमाओवादीले बुथ कब्जा गरेको भन्दै गोरखाका तीनवटै क्षेत्रका विभिन्न मतदान केन्ऽको मतदान प्रक्रिया रद्द गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीबारे निर्वाचन आयोगले अनभिज्ञता जनाएको छ ।
कांग्रेसले क्षेत्र नं. १ का १४ र क्षेत्र नं. २ का ६ वटा केन्द्रको मतदान स्थगन गर्न गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ । त्यसैगरी एमालेले क्षेत्र नम्बर १ का विभिन्न क्षेत्रमा धादली भएको भन्दै चुनाव रद्द गर्न माग गरेको छ । प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले आधिकारिक जानकारी आइनपुगेको उल्लेख गर्दै ती क्षेत्रमा पुन: मतदान गर्ने सम्भावना Sushil-Koiralaनभएको बताए ।
सबैभन्दा बढी डोल्पामा, कम काठमाडौंमा
निर्वाचन आयोगले सबैभन्दा बढी मत डोल्पा जिल्लामा खसेको जनाएको छ । आयोगका अनुसार डोल्पामा ८३ प्रतिशत मत खसेको छ । त्यस्तै रौतहट, गोरखालगाएतका जिल्लामा ८० प्रतिशत मत खसेको आयोगले जनाएको छ । आयोगका अनुसार काठमाडौंमा सबैभन्दा कम मत खसेको छ । ‘काठमाडौंलगायतका जिल्लामा ६५ प्रतिशत मत खसेको अनुमान गरेका छौा,’ निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने ।
५ अर्ब खर्च हुने अनुमान
निर्वाचन आयोगले चुनावको सम्पूर्ण प्रक्रिया सम्पन्न हुदा ५ अर्ब खर्च हुने अनुमान गरेको छ । ‘अहिलेसम्म करिब साढे २ अर्ब खर्च भएको अनुमान गरेका छौा,’ प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने, ‘निर्वाचनको प्रक्रिया अझै निक्कै रहेकाले अन्तिमसम्ममा करीब ५ अर्व खर्च हुने अनुमान गरेका छौा ।’ उनले सरकारबाट चुनावका लागि ७ अर्ब ७५ करोड विनियोजन भएको जानकारी दिदै सबै रकम खर्च नहुने बताए ।
भावुक बने उप्रेती
मतदाताको उत्साहजनक सहभागितामा चुनाव अभूतपूर्वरूपमा सफल भएको भन्दै प्रमुख आयुक्त उप्रेती पत्रकारसामू भावुक बनेका थिए । ‘हामी आज सबैभन्दा खुशीको क्षणमा छौँ, यो अत्यन्त खुशीको दिन हो,’ उनले पत्रकार सम्मेलनमा उपस्थित हुनासाथ भने, ‘यो क्षण इतिहासमा ‘रेकड’ हुनेछ ।’ उनले चुनाव सफल वनाउान भुमिका निर्वाह गरेको उल्लेख गर्दै आयोगका तर्फबाट सम्पूर्ण मतदाता, राजनीतिक दल, उम्मेद्वार, सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र अन्य सबै सरोकारवालालाई धन्यवादका साथै बधाई दिएका थिए ।
‘यो सफलता लोकतन्त्रको संस्थागत विकास हुने क्रममा रहेका अन्य मुलुकहरुलाई समेत उदाहरणीय भएको छ,’ उनले भावुक हुदै भने, ‘सङ्क्रमणकालीन चुनौतीका बीच सम्पन्न आजको निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न भएको जानकारी गराउन पाउँदा मलाई हर्ष र गौरव लागेको छ ।’
उनले चुनावी प्रतिस्पर्धालाई सकेसम्म संयम र धैर्य अपनाउँदै सहज सम्पन्न गर्न मद्दत पुर्‍याएकोमा राजनीतिक दल र उम्मेद्वारहरुलाई पनि धन्यवाद दिए ।
११२ वर्षीय मतदाता
आयोगका अनुसार बाके खजुराको सीतापुर–५ स्थित गौघाटका १ सय १२ वर्षीय प्रताप विष्ट र उनकी पत्नी मोतीले पनि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गुरासपुर मतदान केन्द्रमा मतदान गरे । त्यसैगरी दार्चुलास्थित भूमिराज मा.वि. इयरकोट केन्द्रमा १ सय १० वर्षीया मैनादेवी महतोले पनि मतदान गरेकी थिइन् । कपिलवस्तु वाणगंगा जनता उ.मा.वि.केन्द्रमा पनि १ सय १० वर्षका निमाराम घिमिरेले मतदान गरेका थिए । मोरङ्ग क्षेत्र नम्बर १ मा १ सय ९ वर्षीय बोधनलाल गन्गाइले डोरिया प्रावि झुर्कियास्थित मतदान केन्द्रमा मतदान गरे भने गुल्मी १ खड्गकोटमा सय वर्षीया जमुना ढकालले मतदान गरेकी थिइन् । हुम्ला मदना गा.वि.स. गल्लावाडा घट्टेखोला मतदान केन्द्रमा पनि १ सय २ वर्षकी जीरा ढकालले मतदान गरेकी थिइन । उत्त मतदान केन्द्रमा उनीबाटै मतदान प्रारम्भ भएको थियो । त्यसैगरी कञ्चनपुर बेलौरीस्थित सरस्वती माविको मतदान केन्द्र ‘क’ मा १सय ७ वर्षीय बिर्खबहादुर बस्नेतले पनि मतदान गरे ।

प्रतिक्रिया