एमाओवादीले बुथ कब्जा गरेको आरोप

काठमाडौं, ५ मंसिर । गोरखामा एकीकृत माओवादीले बुथ कब्जा गरेको भन्दै निर्वाचन आयोगमा नेपाली काँग्रेसले उजुरी गरेको छ ।

कांग्रेसले विभिन्न २० वटा बुथको निर्वाचन रद्ध गर्न माग गरेको छ । २० बुथमध्ये १२ वटा बुथ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उम्मेदवार रहेको निर्वाचन क्षेत्र नम्बर १ मा पर्दछन् । गोरखाको क्षेत्र नम्बर १, २ र ३ मा एमाओवादीले मतदान केन्द्र कब्जा गरेर अन्य दलका प्रतिनिधिहरूलाई मतदान केन्द्रमा बस्नसमेत नदिई एकलौटी ढंगले मतदान गरेको आरोप काँग्रेसको छ । त्यसैले सो क्षेत्रको मतदान रद्ध गरी अर्को मतदानको ब्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ ।
बुथ कब्जाको बारेमा मतदान अधिकृत, निर्वाचन अधिकारी र स्थानीय प्रशासनलाई वास्तविकताको जानकारी गराइ एकतर्फी चुनावलाई रद्ध गर्न माग गरेपछि त्यसको वेवास्ता गरिएको आरोप पनि कांग्रेसले लगाएको छ । यसै केही स्थानमा एमाओवादी र नेपाली कांग्रेसले केही स्थानमा बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पनि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ ।
दोलखा र गोरखाका केही मतदान केन्द्रमा एमाओवादीले र धनुषा र स्याङ्जाका केही स्थानमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको आरोप एमालेको छ । सो घटनाहरूको विषयमा छानबिन गर्न पनि एमालेले माग गरेको छ ।

प्रतिक्रिया