परिणाम नआएसम्म खट्न रेग्मीको निर्देशन

Khilraj-Regmi'sकाठमाडौं : अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
आºनो सरकारी निवास बालुवाटारमा सोमबार अध्यक्ष रेग्मीले चारवटै सुरक्षा निकायका प्रमुखलाई मतदानलाई व्यवस्थित र शान्तिपूर्ण गराउन निर्देशन दिएका हुन् । रेग्मीले सुरक्षा प्रमुखलाई चुनावको मतपरिणाम सार्वजनिक नभएसम्म सुरक्षाका लागि कार्यक्षेत्रमा अहोरात्र खटिन निर्देशनसमेत दिए ।
अध्यक्षका प्रेस संयोजक आरपी पाण्डेयले चुनावलाई सफल बनाउन दिन–रात नभनी काम गर्न चारै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको जानकारी दिए । ‘अध्यक्षज्यूले देशभरका सबै मतदानकेन्द्रको सुरक्षा व्यवस्था कडा पार्न र मतदातालाई निर्भिकतापूर्वक मतदान गर्ने वातावरण बनाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो,’ प्रेस संयोजक पाण्डेयले सौर्यसँग भने ।
रेग्मीले चुनावविरोधी शक्तिले चुनाव बिथोल्न सक्नेप्रति पनि सचेत रहन सुरक्षा निकायका प्रमुखलाई सुझाव दिएका थिए । रेग्मीले नेकपा–माओवादीलगायत चुनावको विपक्षमा रहेका ३३ दलका चुनावविरोधी गतिविधिलाई पुर्णरूपमा निस्तेज पार्न पनि पाण्डेयले जानकारी दिए ।
सुरक्षा निकायका प्रमुखसँगको छलफलपछि रेग्मीले निर्धक्क भई मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आग्रहसमेत गरे । बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरे, प्रधानसेनापति गौरवशमशेर जबरा, गृहसचिव जनार्दन नेपाल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, मुख्य अनुसन्धान निर्देशक मोतीबहादुर गुरुङ सहभागी थिए ।
सबै मतदानकेन्द्रमा सुरक्षाकर्मी
सरकारले चुनावलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै मतदानकेन्द्रमा सुरक्षाकर्मी पुगिसकेको जनाएको छ ।
गृह मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी चुनावको सुरक्षाका लागि आवश्यक सबै तयारी र समन्वयको प्रबन्ध गरिएको जानकारी दिएको हो । तोकिएको मतदानकेन्द्रको वस्तुस्थिति जानकारी लिई मतदानस्थल केन्द्रित सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको मन्त्रालयले जनाएको छ ।
गृहप्रवक्ता शंकरप्रसाद कोइरालाले मुलुकभर त्रुटिरहित सुरक्षा व्यवस्थाका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको, सुरक्षाकर्मीको समन्वयात्मक एवं सघन रूपमा परिचालन गरी सुरक्षालाई थप सुदृढ तुल्याएको बताए ।

प्रतिक्रिया