चितवन : कामदारहरूले संविधान सभाको निवार्चनमा मतदान गरेरमात्र काममा फर्कर्ने बताएपछि चितवनमा पाकेको धान भित्राउन समस्या भएको छ । त्यस्तै निर्माणका कामसमेत अलपत्र परेका छन् । मुख्य रूपमा भरतपुर नगर क्षेत्र र पश्चिम चितवनका फाँटमा झुलेका धान समयमा थन्काउन नसकेपछि उत्पादन घट्ने निश्चित भएको छ ।
छठमा केही दिनका लागि घर जाने तराईवासीहरू लगत्तै फर्किएर यस क्षेत्रको खेती थन्काउने काममा सहयोग पुर्याउँथे । स्थानीयवासी चुनाव प्रचारमा व्यस्त छन् भने बाहिरी कामदार नआएपछि धान काट्न सम्भव नभएको भरतपुर नगरपालिका वडा नं ८ पारसनगरका गुरुदत्त पौडेलले बताए ।
चुनावमा भोट नहाली आउ भन्न पनि सकिएन, धान चरा र मुसाले सिध्यायो उनले भने । उनको जस्तै छरछिमेकी कसैको पनि धान काटिएको छैन । चितवनका विभिन्न समूहले उन्नत जातको बीउ संरक्षण गर्दै किसानलाई सङ्गठित गरिरहेका छन् । बीउ राख्नेदेखि धान थन्काउने बेलासम्म प्राविधिकको सहायता लिएर उन्नत बीउ उत्पादन गर्दै आएका छन् ।
पश्चिम चितवनको पार्वतीपुरमा रहेको श्रीराम बीज वृद्धि कृषक समूहले लगभग दुई सय बिघामा धानखेती गरेको छ । सदस्यहरूले आफ्नो खेतमा लगाएको धान संस्थालाई बिक्री गर्छन्, त्यसलाई बीउका रूपमा अन्य क्षेत्रमा समेत बिक्री गरिन्छ तर यस वर्ष कामदारको अभावमा धान थन्काउन नसकेको संस्थाका निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।
धान काट्न दस दिन ढिलो भएको र खेत चिसो भएकाले मेसिनले धान काट्न पनि सम्भव नभएको उनको भनाइ छ । कामदार नपाएपछि समूहले मेसिन झिकाएर धान काट्ने प्रयास गरेको भए पनि ढिलोसम्म पानी परेकाले खेत चिसो हुादा मेसिन गढेर धान काट्न नसकिएको उनले बताए । त्यस्तै दिव्यनगरका सन्तोष ढकालले चरा र मुसाले धान खाइसक्दा पनि थन्काउन नपाएको गुनासो गरे । स्थानीय कामदार नपाइने र घर गएकाहरूले भोट नदिई नफर्कने बताएपछि समस्या भएको ढकालको भनाइ छ ।
गाउँमा चुनावी माहोल बढेकाले भोट नदिई कोही पनि काममा फर्किन नमानेको धान काट्ने कामदार लिएर आउने रौतहट टेकडाहका ठेकेदार बालेश्वर यादवले बताए । (सौस)
प्रतिक्रिया