काठमाडौ : निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचनविरोधी समूहले विभिन्न स्थानमा विष्फोट र आक्रमण गर्ने क्रम बढेको छ । शनिबार साँझ पनि अज्ञात समूहले काठमाडौंको सतुंगलमा यात्रुबाहक बसमा पेट्रोल बम प्रहार गरेको छ ।
काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको ना ४ ख ५२०० नम्बरको बसमा पेट्रोलबम प्रहार भएको प्रहरीले जनाएको छ । घटनामा ८ जना घाइते भएको र तीमध्ये २ को अवस्था गम्भीर रहेको बताइएको छ । सरकारले मतदानका लागि सडक मार्ग प्रयोग गरी आ–आफ्नो गृह जिल्ला जाने मतदाताका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाएको दाबी गरिरहेको बेला सो घटना भएको छ । शनिबार मात्रै गृह मन्त्रालयले लामो तथा छोटो दूरीका सवारीसाधनलाई आवश्यक सुरक्षा प्रदान गरी यातायात सुचारु गरिएको जनाएको थियो ।
गृह मन्त्रालयले शनिवार दिएको जानकारीअनुसार मुलुकभर निर्वाचन केन्द्रित कार्यक्रम शान्तिपूर्ण वातावरणमा तीव्र गतिमा भएका छन् । तर, शनिबार पनि निर्वाचनको विरोधमा रहेका बहिष्कारवादी समूहले चार वटा सवारीसाधनमा तोडफोड र आगजनी गरेका छन् । शनिबार नै तीन स्थानमा विष्फोटकजन्य वस्तु फेला परेका छन् । शनिबार नै धादिङमा नौ राउन्ड गोली र एक थान पेस्तोलसहित एक व्यक्तिलाई नियन्त्रणमा लिइएको पनि मन्त्रालयले जनाएको छ । सार्वजनिक सवारीसाधनमाथि तोडफोड र आजगनीलगायतका अपराधिक क्रियाकलापमा सलग्न ३४ जनालाई नियन्त्रणमा लिइएको बताइएको छ । (सौस)
प्रतिक्रिया