प्रविधि झिकाउने अनुमति उद्योग विभागबाट

काठमाडौं, १ मंसिर । विदेशी लगानीमा सञ्चालित हाइड्रोपावरका लागि चाहिने प्रविधि झिकाउने अनुमति दिने अधिकार अब उद्योग विभागले पाएको छ । उद्योग मन्त्री समेत रहेका शंकरप्रसाद कोइरालाको अध्यक्षतामा शुक्रबार बसेको औद्योगिक प्रवद्र्धन बोर्डको २०७ औं बैठकले बोर्डमा भएको अधिकार विभागलाई प्रत्यायोजन गर्ने निर्णय गरेको हो ।

आयोजनाका लागि स्वीकृति दिइसकेपछि फेरि प्रविधि झिकाउने अनुमतिका लागि बोर्डको बैठक बस्न झन्झटिलो भएकाले यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ । यसअघि दुई अर्बसम्म विदेशी लगानीका योजना, आयोजनाको स्वीकृत गर्ने अधिकार विभागले पाउँदै आएको थियो । यो निर्णय संगै बैठकले विदेशी लगानीमा सञ्चालित म्याग्दीको टुडी हाइड्रोपावरलाई यस्तो अनुमति दिएको छ ।
यसैगरी बैठकले मदिराको मापदण्ड परिमार्जनका लागि बनेको कार्यदलको म्याद आउँदो माघ महिनासम्मका लागि बढाएको छ । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.रविन्द्र शाक्य, गभर्नर डा. युवराज खतिवडा, अर्थ, उद्योग, वाणिज्य मन्त्रालयका सचिव, उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र बस्नेतलगायत निजीक्षेत्रका पदाधिकारी तथा सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया