दैलेखमा कांग्रेस–एमाले मुख्य प्रतिस्पर्धी

दैलेख १ मंसिर । १ सय ७२ मतकेन्द्र रहेको दैलेख जिल्लामा १ लाख १३ हजार २ सय ३६ मतदाता संख्या रहेको निर्वाचन कार्यालयले जनाएको छ । विभिन्न पार्टीका १४ जना र एक स्वतन्त्र उम्मेदावर गरि १५ जान उम्मेदवार संविधान सभा चुनावमा प्रतिस्पर्धा गर्दै छन् । विगतका निर्वाचन जस्तै यस पटक पनि यस क्षेत्रमा एमाले र नेपाली कांग्रेश विच निकै प्रतिस्पर्धा हुने देखिएको छ ।

विगतको भन्दा फरक तरीकाले छोएको छ दैलेखको चुनावी माहोललाई । ०६४ सालको निर्वाचनमा दैलेख क्षेत्र नं. १ बाट कांग्रेसका गणेशबहादुर खड्काले १६ हजार २ सय ८० मत र क्षेत्र नं. २ बाट एमालेका राजबहादुर बुढाले १६ हजार २ सय ९७ मत ल्याएर जीतेका थिए । प्रत्यक्ष र समानुपातिकतर्फ गरी दुइटै क्षेत्रमा एमाओवादी तेस्रो दलमा सीमित बनेको थियो । यसपटक एमाओवादी दुवै क्षेत्र जसरी पनि जित्ने दाउमा छ भने कांग्रेस–एमाले आआफ्नै पक्षमा सफलता हात पार्न दौडधुपमा छन् ।
क्षेत्र नम्वर एकमा तीनपटक सम्म निर्वाचित भएका कांग्रेसका गणेशबहादुर खड्का, सांगठनिक पकड हुँदाहुदैं पनि पहिलो संविधानसभामा झिनो मतले हारेका एमालेका जील्ला अध्यक्ष अम्मरबहादुर थापा र टिकट वितरणका बेला एमाले परित्याग गरेर एमाओवादीमा प्रवेश गरेका उम्मेदवार तेजबहादुर चन्दबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
गत निर्वाचनमा मध्यपश्चिम क्षेत्रबाट जितेका कांग्रेस नेता खड्कालाई यसपटकको चुनावमा त्यति सजिलो छैन । खड्का विरुद्ध कांग्रेसका नरसिंह मल्लले बागी उम्मेदवारी दिएका छन् भने कांग्रेस कार्यक्रता राप्रपा नेपालमा प्रबेस गर्ने लहर बढेको छ । तर मल्लको स्वतन्त्र उम्मेदवारीले पार्टीलाई खासै असर नगर्ने कांग्रेसको दाबी छ । एमाओवादीमा फूट र कांग्रेसमा बागी उम्मेदवारीका कारण आफैले चुनाब जित्ने एमालेको बुझाइ छ । त्यस्तै, एमाओवादीले कांग्रेस–एमालेका कार्यकर्तामा आफ्नै पार्टीको बिस्वास नभएको र जनलहर एमाओवादीमा बढेको तर्क अघि सार्दै जीत आफ्नै हुने दाबी गर्दै आएको छ ।
त्यस्तै, क्षेत्र नम्बर २ मा एमालेका लक्ष्मी पोखरेल, कांग्रेसका हिमबहादुर शाही र एमाओवादीका थीरबहादुर कार्कीबीच कडा प्रतिष्पर्धा हुनेछ । शाही र कार्की अघिल्लो निर्वाचनमा पनि पराजित भएका थिए । बलियो संगठन र आफूप्रति मतदाताको बढ्ता सहानुभूतीका कारण चुनाव आफैले जित्ने एमाले उम्मेदवार पोखरेलको दाबी छ । उता, कांग्रेस उम्मेदवार शाही एमालेको मत एमाओवादीले ‘काट्ने’ हुँदा आफू नै विजय नजिक पुगेको बताउछन् । अर्का प्रत्यासी एमाओवादी उम्मेदवार कार्की भने यसभन्दा पहिला चुनाब जितेका कांग्रेस–एमालेका नेताले जनताको काम गर्न नसकेकोले कांग्रेस–एमालेलाई भन्दा अब जनताले आफूलाई जिताउन चाहेको तर्क राख्छन् ।
जिल्लामा राप्रपा नेपाल, अखण्ड नेपाल पार्टीले संगठन विस्तार र प्रचारप्रसार अभियान तीव्र भएकाले यी दलले तुलनात्मक रुपमा कांग्रेसलाई बढी क्षति पुर्‍याउने आँकलन गरिएको छ । अखण्ड नेपाल र राप्रपा नेपालका उम्मेदवार पूर्व कांग्रेस कार्यकर्ता हुन् । दुवै क्षेत्रमा एक स्वतन्त्रसहित १५ दलका २७ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । दैलेखमा मतदाता संख्या सिहले भन्दा निकै कम भएकाले चुनाव जित्न पहिलेजस्तो मत आवश्यक नपर्ने नेताहरुको भनाई छ ।

प्रतिक्रिया