भक्तपुरका ३२ मतदान केन्द्र संवेदनशील

भक्तपुर, २९ कात्तिक । आगामी मङ्सिर ४ को संविधानसभा निर्वाचनमा निर्धारण गरेको मतदान केन्द्रमध्ये भक्तपुरका ३२ वटा मतदान केन्द्र सुरक्षाका दृष्टिले संवेदनशील रहेको बताइएको छ । भक्तपुरमा निर्धारण गरिएको २०३ मतदान केन्द्रमध्ये संवेदनशील मानिएका मतदान केन्द्रमा सुरक्षा व्यवस्था मजबुत पारिने भएको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नं १ र निर्वाचन क्षेत्र नं २ मा १६/१६ मतदान केन्द्र संवेदनशील तोकिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको नेतृत्वमा निर्वाचन अधिकृत, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान आयोगका प्रमुखसहितको टोलीले निर्धारित प्रत्येक मतदान केन्द्रको निरीक्षण गरेपछि संवेदनशील मानिएका केन्द्रलाई प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मिलाइएको बताइएको छ । भक्तपुरका दुईवटा निर्वाचन क्षेत्रमा ८१ वटा स्थानमा २०३ वटा मतदान केन्द्र र छ वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । जसमा क्षेत्र नं १ मा ९५ वटा र क्षेत्र नं २ मा १०९ वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । भक्तपुरका जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत बालेन्द्र रूपाखेतीका अनुसार एक स्थानमा एकदेखि पाँच वटासम्म मतदान केन्द्र राखी सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लामा निर्वाचनमा जुटेका राजनीतिक दलको गतिविधि शान्तिपूर्ण रहेको, समग्र जिल्लाको शान्ति सुरक्षासमेत राम्रो रहेको दाबी गरेको छ । यता महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रमेश थापाले सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रमा विशेष निगरानी बढाइरहेको, होटल, रेस्टुरेँन्ट, गेष्टहाउसमा छापा मार्ने कार्य भइरहेको बताए ।
शङ्कास्पद स्थान, आपराधिक गतिविधि हुने क्षेत्रलगायतमा प्रहरीले निगरानी बढाएको, विभिन्न समयमा आपराधिक गातिविधिमा संलग्न रहेका र नेकपा–माओवादीका नेता, कार्यकर्तालाई समेत विशेष निगरानीमा राखेको उनले बताए । प्रहरीले जिल्लामा गस्ती, लामो गस्ती, साइकल गस्ती, साझा पोसाकका प्रहरी, शङ्कास्पद व्यक्तिलाई निगरानी, चेक जाँचमा कडाइ र थप सात ठाउँमा प्रहरी चेक पोस्ट खडा गरिएको जनाएको छ । देशभर आगामी संविधानसभा निर्वाचनमा साना हतियार चुनौतीका रूपमा रहेको बेलामा भक्तपुरमा भने प्रहरीले लाइसेन्स प्राप्त वैध हतियारसमेत ११ थान हतियार सङ्कलन गरेको छ ।

प्रतिक्रिया