विराटनगर, २८ कात्तिक । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले मोहन वैद्यले नेपाली जनतालाई गम्भीर धोका दिएको आरोप दोहर्याएका छन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाले आज (बिहीबार) विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले संविधानसभाको माग गर्ने मोहन बैद्यजीले चुनाव बहिष्कार गरेर जनतालाई धोका दिएका दिएको बताए ।
‘संविधानसभाको चुनावी माग्ने अनि बहिष्कार गर्ने,’ उनले भने, ‘नेकपा–माओवादीको दोधारे चरित्रले जनतालाई धोका भएको छ ।’
उनले नेकपा–माओवादीलाई संविधानसभा चुनाव विरोधीको आरोप लगाए । ‘चुनाव बिरोधीलाई जनताले आफै ठेगान लगाउने छन्,’ उनले भने ।
यसैबीच, उपसभापति पौडेलले सरकारले मनोनित गर्ने २६ सिट बाँड्ने अधिकार कसैलाई नरहेको बताए । ‘३३ दलीय मोर्चालाई मन्त्रिपरिषद्बाट मनोनित गरिने २६ सिट दिने अधिकार कसैलाई छैन,’ उनले भने, ‘नयाँ सरकारले आफ्नै योजनामा २६ सिटमा समाजका व्यक्ति ल्याउने छ ।’
त्यसै गरी पौडेलले कांग्रेसको जितले मात्रै सबै धर्म, संस्कृति, जानजातिको अधिकार सुनिश्चित हुने दाबी गरे । ‘सबैका अधिकारका लागि लोकतान्त्रिक शक्तिको जित अनिवार्य छ,’ उनले भने ।
प्रतिक्रिया