वादोरियो टोली श्रीलंका जादै

karateकाठमाडौं : प्रथम वादोरियो अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार श्रीलंकाको रत्नपुरा प्रस्थान गर्दैछ । टोली १० खेलाडीसहित ११ सदस्यीय रहेको छ ।
नोभेम्बर १६ र १७ तारिखमा हुने प्रतियोगितामा ९ पुरुष र १ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सिनियरतर्फ पुरुषको ६५ केजीमा शहदेव राजवंशी, ६० केजीमा शुक्रबहादुर राई, खुलामा सिमोन खत्री, ५५ केजीमा तेजबहादुर तामाङ, ५० केजीमा अजयभक्त श्रेष्ठ तथा ४५ केजीमा कैलाश बस्नेतले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै जुनियर पुरुषको ५० केजीमा आकाश तामाङ, ४५ केजीमा सन्दिप लामा तथा ६० केजीमा केशर सुब्बाले खेल्नेछन् । महिलाको ५० केजीमा रोएकता सिंहले नेपालको चुनौती प्रस्तुत गर्ने छिन् । केहि खेलाडीले कातामा पनि खेल्ने बताइएको छ ।
टोली नेतामा वादोरियो प्रमुख प्रशिक्षक एवं नेपाल कराते महासंघका महासचिव हरिशरण केसी रहेका छन् । केसीले प्रतियोगिता दौरान हुने दक्षिण एसियाली वादोरियोको विशेष साधारणसभा पनि भाग लिनेछन् ।
केसीले दशै/तिहार नभनी खेलाडी प्रशिक्षणमा सहभागी भएकाले राम्रो नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे । उनले आफू दक्षिण एसियाली वादोरियो कराते महासंघको अध्यक्षमा उठ्ने सोच समेत रहेको जानकारी गराए । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा र नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया