धान उत्पादन बाँकेमा १० प्रतिशतले बढ्ने

Dhanबाँके : जिल्लामा यसपटक विगतभन्दा करिब १० प्रतिशतले धानको उत्पादन बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । समयमै प्रर्याप्त वर्षा भएका कारण उत्पादन बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत हस्मुल्ला खाँका अनुसार अघिल्लो वर्षभन्दा धानखेती गरिएको क्षेत्रफलसमेत यस वर्ष बढी छ । मौसमले सुरुदेखि नै साथ दिएका कारण समग्रमा धानको उत्पादन राम्रो भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत खाँले जानकारी दिए । केही गाविसमा बाढीको प्रभाव परेपनि समग्रमा उत्पादन गत वर्ष भन्दा बढेको उनले बताए ।
जिल्लामा गत वर्ष ३४ हजार छ सय ७५ हेक्टर खेतीमा धान रोपाइा भएकोमा यस वर्ष ३६ हजार पाँच सय हेक्टर जमिनमा धानखेती भएको छ । गत वर्ष एक लाख नौ हजार दुई २६ टन धान उत्पादन भएकोमा यस वर्ष एकलाख २५ हजार नौ सय २५ टन धान उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ ।
यसैगरी गत वर्ष धानको उत्पादकत्व ३.१४ रहेकोमा यसवर्ष बढेर ३.४५ पुग्ने अनुमान जिल्ला कृषि विकास कार्यालयको छ । जिल्लामा करिब २७ प्रतिशत धानखेती हुने जमिनमा मात्रै सिंचाइ सुविधा रहेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष जिल्लाको राप्ती पारीका केही गाविसमा फौजी कीराले धानबाली बढी नोक्सान पारेकोमा यस वर्ष फौजीकीराको प्रभाव नगन्य पाइएको छ ।
समग्ररुपमा धानको उत्पादन गत वर्ष भन्दाबढी हुने अनुमान गरिएपनि राप्ती नदी किनाराका क्षेत्रमा भने बाढीका कारण धानबाली प्रभावित भएको छ । होलिया, बेतहनी, फत्तेपुर, गङ्गापुर, मटैहया, कम्दीलगायतका गाविसमा डुबानका लागि धानबाली प्रभावित भएको कृषकले बताएका छन् । (सौस)

प्रतिक्रिया