काठमाडौं : छोराको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै दोस्रो पटक पुन: आमरण अनशन सुरु गरेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र उनकी श्रीमतीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बन्दै गएको छ । बोल्नसमेत नसक्ने अवस्थामा रहेका अधिकारी दम्पतीलाई अहिले स्लाइन दिएर राखिएको जेठा छोरा नुरप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
लामो समयदेखि वीर अस्पतालमा बस्दै आएका अधिकारी दम्पतीले पछिल्लो पटक यही कात्तिक ७ गतेदेखि वीर अस्पतालमै अनशन थालेका हुन् । उनीहरूलाई हाल वीर अस्पतालको विशेष वाडको बेड नम्बर १६ र १७ मा राखिएको छ । माग पूरा नभएसम्म अनशन नतोड्ने अडान अधिकार दम्पतीले राख्दै आएका छन् । अधिकारीका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीलाई माओवादी कार्यकर्ताले २०६१ जेठ २४ गते अपहरण गरी हत्या गरेका थिए । यसैगरी आफूलाई पुन:बहाली गर्नुपर्ने माग गर्दै ५७ दिनदेखि आमरण अनशन बस्दै आएको पूर्वप्रहरी राजकुमार कामतीको स्वास्थ्य अवस्था अझ कमजोर बन्दै गएको छ ।
वैकल्पिक सुरक्षा निकायमा समावेश वा समयावधिको आधारमा निवृत्तिभरण वा अन्य उचित समाधान खोज्नुपर्ने माग गर्दै असोज २ गतेदेखि उनी अनशन बस्दै आएका छन् । रत्नपार्कस्थित शान्तिवाटिकामा अनशन बस्नुभएका कामतीलाई असोज १३ गते प्रहरीले उपचारका लागि भन्दै वीर अस्पतालमा लगेको थियो । अहिले कामतीलाई वीर अस्पतालको सघन उपचार कक्षमा राखिएको द्वन्द्वपीडित सेना प्रहरी राष्ट्रिय सङ्घर्ष समितिका संयोजक टेकबहादुर थापाले जानकारी दिए । सन्ताउन्न दिनसम्म विभिन्न राजनीतिक दलका नेता र मानव अधिकारकर्मी लगायतका व्यक्ति कामतीलाई भेट्न आए पनि समस्या समाधानका बारेमा कुनै पहल नभएको उहााको भनाइ थियो । माग पूरा नभएसम्म अनशन जारी राख्नेसमेत अध्यक्ष थापाले बताए ।
प्रतिक्रिया