जनतासामु के भनिरहेछन् शीर्ष नेता ?

‘एमाओवादीले मात्र गणतन्त्रको रक्षा गर्छ’
धनगढी : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय गणतन्त्रको रक्षा आºनो पार्टीले मात्र गर्न सक्ने बताएका छन् ।
पार्टीको मेची–महाकाली जनजागरण अभियानअन्तर्गत मंगलबार कैलाली र कञ्चनपुरका चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीय गणतन्त्र नेपाल निर्माणका लागि आफ्नो पार्टीले ठूलो संघर्ष गरेको बताए । एमाओवादीका लागि जनताको फैसला नै सर्वोपरी हुने उल्लेख गर्दै दाहालले अरू कसैको फैसला एमाओवादीलाई स्वीकार्य नहुने बताए ।
पहिलो संविधानसभाबाट ८० प्रतिशत काम सम्पन्न भइसकेको स्मरण गर्दै उनले दोस्रो संविधानसभाबाट ६ महिनासम्म सहमतिको प्रयास गरिने र सहमति नभए मतदान प्रक्रियामा गई एक वर्षभित्र संविधान बनाउने दाबी गरे । ‘बन्द, हडतालका बाबजुद पनि एमाओवादीप्रति ठूलो जनलहर देखिएको छ,’ उनले भने, ‘जतिसुकै बम बारुद पड्काए तथा राखे पनि घोषित मितिमा चुनाव भएरै छाड्छ ।’ यसपटकको चुनावलाई परिवर्तन चाहने र नचाहने पक्षबीचको लडाइँको संज्ञा दिँदै उनले सबै ठाउँको जनलहर र उत्साह देख्दा परिवर्तनकारीको पक्षमा दुईतिहाइ बहुमत आउने निश्चित भएको दाबी गरे ।
3 dal neta ji haruकांग्रेसले भ्रममा पार्दैन : कोइराला
नेपालगन्ज : कांग्रेस सभापति सुशील कोइरालाले भोटका लागि झुटो कुरा गरेर जनतालाई भ्रममा नपार्ने बताएका छन् ।
सभापति कोइरालाले चुनाव प्रचारका क्रममा मंगलबार नेपालगन्जको आदर्शनगर टोलका बासिन्दासामु यस्तो बताएका हुन् । ‘म तपाईंहरूको टोलमा सडक बनाइदिन्छु, नाली बनाइदिन्छु, छोराछोरीलाई नोकरीमा लगाइदिन्छु भनेर भोट माग्दिनँ,’ कोइरालाले भने, ‘मुलुकमा कसको कारणले अस्थिरता आयो, किन अराजकता बढ्यो, कानुनी शासनलाई कसले भताभुंग बनायो ? त्यो बुझेर तपाईंहरू
भोट दिनुहोस् ।”
उनले अब गठन हुने संविधानसभाले ६ महिनाभित्र संविधानको मस्यौदा तयार गर्ने र एक वर्षभित्र संविधान जारी गर्ने विश्वास दिलाउदै आफूहरू संघीयताविरोधी नरहेको स्पष्ट पारे । आफूहरू बहुपहिचानसहितको थोरै संघीय राज्य निर्माणको पक्षमा रहेको उल्लेख गर्दै उनले बहुपहिचानसहितको संघीयताले सबै जातजाति, भाषाभाषी, धर्म तथा सम्प्रदायका व्यक्तिलाई एकतामा बाध्ने
दाबी गरे ।
‘एमाओवादीको आश्वासनमा नफस्नुस्’
सर्लाही : एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादी लोभलालच देखाएर चुनाव जित्ने प्रपञ्चमा रहेको आरोप लगाएका छन् ।
पार्टी अध्यक्ष खनालले मंगलबार सर्लाही क्षेत्र नम्बर १ मा पर्ने ईश्वरपुरमा क्षेत्रीय पार्टी कार्यालयको शिलान्यासपछि एमाओवादीमाथि यस्तो आरोप लगाएका हुन् । ‘आश्वासनका पोका बाँडेर चुनाव जित्छु भन्नु मूर्खतासिवाय अरू केही हुन सक्दैन,’ अध्यक्ष खनालले भने, ‘तपार्इंहरू सबै
सचेत बन्नुहोस् ।’
उनले जनतालाई ढाटेर चुनाव जित्न खोज्ने प्रवृत्ति मुलुकका लागि दुर्भाग्यपूर्ण भएको धारणा व्यक्त गरे । एमाले जनताका आधारभूत आवश्यकतालाई नयाँ संविधानमा मौलिक हकका रूपमा स्थापित गर्न प्रतिबद्ध रहेको उनले बताए । बहुपहिचानयुक्त संघीयताले मात्रै सामाजिक सद्भाव र राष्ट्रिय अखण्डता जोगाउन सक्ने दाबी उनले गरे । एमालेले बहुपहिचानसहितको ७ प्रदेशको अवधारणा अघि सारेको छ ।

प्रतिक्रिया