काठमाडौं, २७ कात्तिक । नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको यातायात बन्दको प्रभाव मंगलबार राजधानीमा आंशिक रूपमा मात्र परेको छ ।
१० दिने आमहडताल सोमबार एक दिन मात्र गर्न बाध्य भएको मोर्चाले मंगलबारदेखि यातायात बन्द गराए पनि राजधानीलगायत देशको अधिकांश क्षेत्रमा त्यसको आंशिक प्रभाव मात्र परेको हो । यसअघि ४ मंसिरमा हुने दोस्रो संविधानसभा चुनाव बिथोल्नका लागि २५ कात्तिकदेखि गर्ने भनिएको १० दिने आमहडतालको कार्यक्रमबाट पछि हटेर मोर्चाले यातायात बन्द मात्र गरेको हो ।
उच्च सुरक्षा सतर्कताका कारण मंगलबार बन्दमा सवारीसाधन चलेको प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी रामशाहपथका अनुसार यातायात बन्दमा राजधानीका सडकमा सुरक्षा निकायको बाक्लो उपस्थिति थियो ।
बन्दकर्ता सडकमा नदेखिए पनि अकस्मात् आएर उनीहरूले सवारीसाधनमा आक्रमण गरेका थिए । बन्दकर्ताले आधा दर्जनभन्दा बढी ट्याक्सी तोडफोड गरेका थिए । बन्दको अवज्ञा गरेकाले ट्याक्सी तोडफोड गर्नुपरेको मोर्चाले जनाएको छ । भक्तपुरमा उनीहरूले अरनिको यातायातको बस जलाएका थिए । गाडी तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
निजी क्षेत्रले बन्द तोड्ने
निजी क्षेत्रले पनि बुधबारदेखि यातायात बन्दको अवज्ञा गर्ने घोषणा गरेका छन् । सरकारसँगको छलफलमा यातायात व्यवसायीले बन्दमा पनि यातायात सुचारु गर्न सहमति जनाएका छन् । सरकारबाट सुरक्षा र क्षतिपूर्तिको आश्वासन पाएपछि व्यवसायीले बन्दका बेला सवारीसाधन चलाउने भएका हुन् ।
भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री छविराज पन्तसगको भेटमा यातायात व्यवसायीले सरकारले दिने भनेको क्षतिपूर्ति बढाउनुपर्ने, कुनै घटना भएको अवस्थामा गाडीका मजदूरलाई पनि क्षतिुपूर्तिलगायतका माग राखेका थिए । भेटमा मन्त्री पन्तले सरकारले सुरक्षा तथा क्षति भएको अवस्थामा क्षतिपूर्तिको व्यवस्था मिलाएको भन्दै ढुक्क भएर सवारी साधन चलाउन आग्रह गरेका थिए ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघले यातायात बन्दको विरोधमा आज राजधानीमा सवारी साधनसहितको र्याली निकाल्ने भएको छ ।
महासंघले मंगलबार साँझ पत्रकार सम्मेलन गरी आफूहरुले कुनै पनि दलले गर्ने हडताल र चक्काजामको विरोध गर्दै आएको उल्लेख गर्दै यस्तो जानकारी दिएको हो । उपत्यकाका विभिन्न नाकाबाट भेला भई सवारीसाधनसहित बन्दको विरोधमा र्याली प्रदर्शन गरी बिहान १० बजे खुलामञ्चमा भेला हुन महासंघले अपिल गरेको छ । उद्योगी व्यवसायीले निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने र सर्वसाधारणको जनजीवनलाई सामान्य बनाउन आवश्यक पर्ने भएकाले यस्तो कार्यक्रम राखिएको महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष सुरज वैद्यले राजनीतिक अस्थिरताका नाममा पटकपटक हुने बन्द र हडतालले आर्थिक क्षेत्र तहसनहस हुने स्पष्ट पार्दै यातायात बन्दका कार्यक्रम फिर्ता लिन मोर्चालाई आग्रह गरे ।
प्रतिक्रिया