प्रत्यक्षतर्फ ९७ सिट जित्ने एमालेको आँकलन

Sun-Umlकाठमाडौं, २७ कात्तिक । ४ मंसिरमा हुने संविधानसभा दोस्रो चुनावमा एमालेले प्रत्यक्षतर्फ ९७ सिट जित्ने निष्कर्ष निकालेको छ ।

पार्टी मुख्यालय बल्खुमा मंगलबार बसेको निर्वाचन परिचालन कमिटीको बैठकले चुनावी परिणामको यस्तो आँकलन निकालेको हो । बैठकले ८० सिटमा कडा प्रतिस्पर्धा हुने आँकलनसमेत गरेको छ । ‘२ सय ४० वटा चुनाव क्षेत्रकै चुनावी अवस्थाबारे समीक्षा गरेपछि हामीले यस्तो निष्कर्ष निकालेका हाँ,’ निर्वाचन परिचालन कमिटीका सदस्य विष्णु रिमालले भने, ‘चुनाव प्रचारका लागि अझै केही दिन बाँकी रहेकाले उक्त अवस्थामा अझ सुधार आउन सक्ने अनुमान छ ।’
यसका लागि चुनाव निष्पक्ष हुनुपर्ने एमालेको ठहर छ । कांग्रेस र एमाओवादीले पैसा बाँडेर भोट प्रभावित पारेको अवस्थामा भने त्यसमा केही तल–माथि हुन सक्ने कमिटीले जनाएको छ ।
त्यसैगरी, बैठकले देशभर नै एमालेको अवस्था सुदृढ भएपछि आºना कार्यकर्तामाथि एमाओवादी र कांग्रेसले आक्रमण बढाएको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । ‘मुलुकभरको अवस्था हेर्ने हो भने एमाले मजबुत छ,’ निर्वाचन परिचालन कमिटीका संयोजक युवराज ज्ञवालीले भने, ‘एमालेको बलियो अवस्था देखेपछि विपक्षी दल अत्तालिएर एमालेमाथि आक्रमण गर्न थालेका छन् ।’
उक्त दलले एमाओवादीले मुलुकभर चुनावी आचारसंहिता उल्लंघन गरेको निष्कर्ष निकाल्दै त्यसबारे आयोगको ध्यानाकर्षण गराउन समितिका संयोजक ज्ञवाली र सदस्य अग्नि खरेलको टोलीलाई खटाएको रिमालले जानकारी दिए । ‘आयोग आचारसंहिता उल्लंघन रोक्न असफल भएको निष्कर्ष बैठकले निकालेको छ,’ रिमालले भने, ‘बैठकले देशभर भइरहेका आचारसंहिता उल्लंघनका घटना रोक्न नसक्नु लज्जास्पद कुरा हो ।’
उनका अनुसार पूर्वीपहाडी क्षेत्रमा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि निरन्तर आक्रमण गरिरहेको भन्दै त्यसलाई रोक्न आयोगले चासो नदिएको विषयमा पनि बैठकमा छलफल भएको थियो । ‘एमाले कार्यकर्ता दिनुहँ कुटिइरहँदा आयोग मौन छ, एमाओवादीले आचारसंहिताविपरीत मेची–महाकाली यात्रा गर्दा आयोगले त्यसलाई रोक्नेतर्फ कुनै पहल गरेन,’ उनले भने, ‘आचारसंहिता उल्लंघनका घटना रोक्न निर्वाचन आयोगले पहल नगरेपछि ध्यानाकर्षण गराउन टोली पठाउने निर्णय भएको छ ।’
त्यसैगरी, बैठकले आगामी चुनावमा उपत्यकाका १५ मध्ये आधा सिट जित्ने दाबीसमेत गरेको छ । उपत्यकामा एमालेको अवस्था मजबुत रहेकाले यस्तो निष्कर्षमा पुगेको एमालेले जनाएको छ । निर्वाचन परिचालन कमिटीका सदस्य रिमालले उपत्यकाका तीन जिल्लाका १५ मध्ये आधाभन्दा बढी सिटमा एमालेले जित्ने निष्कर्ष निकालेको जानकारी दिए ।
‘उपत्यकाका १५ क्षेत्रमध्ये हामीले ७ देखि ८ वटा सिट जित्ने निश्चित छ, उनले भने, ‘देशभरिको माहोलले उपत्यकालाई पनि छोएको छ, एमाले उपात्यकामा पनि पहिलो पार्टी बन्छ ।’
बैठकले मतदाता परिचयपत्र वितरणमा भएको ढिलाइप्रति पनि आपत्ति जनाएको छ । चुनावमा तराईका जिल्लामा बढी धाँधली हुने भन्दै एमालेले मतदाता परिचयपत्र यथाशीघ्र बाँड्न आयोगसँग माग गरेको छ । त्यसैगरी, बैठकले विभिन्न जिल्लामा हुने क्षेत्रीय सभाका लागि केन्द्रीय वक्ता खटाउने निर्णय पनि गरेको छ । जसअनुसार उदयपुर, झापा, ललितपुर, चितवन, सुर्खेत, पाँचथर, कञ्चनपुरलगायत जिल्लामा हुने क्षेत्रीय सभामा केन्द्रीय पदाधिकारी र नेता जाने तय भएको एमालेले जनाएको छ ।

प्रतिक्रिया