विराटनगर, २६ कात्तिक । संविधानसभा निर्वाचनलाई लक्षित गरेर प्रहरी प्रधान कार्यालय काठमाण्डौले मोरङमा थप फोर्स पठाएको छ ।
निर्वाचन शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षाकर्मी अपुग भएकाले प्रहरी प्रधान कार्यालयले मोरङ जिल्लामा थप पााचसयको हाराहारीमा प्रहरी पठाएको हो । आइतबार साझसम्म मोरङमा ४ सय ५५ जना थप फोर्स आइपुगेको मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिश्वराज पोखरेलले जानकारी दिए । प्रहरी प्रधान कार्यालय मोरङमा सात जना प्रहरी नायव उपरिक्षक ( डिएसपी ), ९ जना प्रहरी निरिक्षक, ( इन्स्पेक्टर ) लगायतको थप फोर्स पठाएको छ । हालसम्म जिल्लामा प्रहरी प्रधान कार्यालय र क्षेत्रिय प्रहरी कार्यालयबाट गरि ४ सय ५५ जना थप आइपुगेको र अझै ७० देखी ८० जनासम्म आउने जानकारी पाएको उनले वताए । हाल मोरङमा म्यादी प्रहरी सहित प्रहरीको संख्या तीन हजारको हाराहारीमा छ । मोरङ १ हजार ४ सय सात जना म्यादी प्रहरी भर्ना गरिएको छ । प्रहरी उपरिक्षक पोखरलेका अनुसार टोलीमा प्राविधिक र विशेष तालिम लिएका कमाण्डो सम्म रहेका छन । उनीहरूलाई निर्वाचनको सुरक्षाको दृष्टीकोणले अति सम्बेदनशिल मानिएका क्षेत्रहरूमा खटाइने छ । हेडक्वाटरवाट आएका प्रहरी टोलीलाई विभिन्न मतदान केन्द्रमा परिचालन गरिएपछि विशेष गरेर अति सम्बेदनशिल क्षेत्रहरूमा केन्द्रित गरिनेछ । यद्यपी नेकपा–माओबादी नेतृत्वको ३३ दलिय मोर्चाले आव्हान गरेको नेपाल बन्दको अवधिभर भने उर्लाबारी, पथरी, बेलबारी, रंगेली लगायतका मुख्य बजार क्षेत्रमा परिचालन गरिनेछ । बन्दको प्रभाव पर्न नदिन र आवश्यक शान्ति सुरक्षाको अवस्था मजबुुत बनाउन डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको हो ।
हेडक्वाटरले थप जनशक्तिसंगै मोरङका थप भौतिक सामाग्री समेत पठाएको छ । निर्वाचन अवधीभर शान्ती सुरक्षा कायम राख्नका लागि थप पााचवटा गाडी र ठुलो मात्रामा हतियार समेत उपलब्ध गराएको छ । यसअघि जिल्लामा २२ वटा गाडी रहेकोमा अव गाडीको संख्या २७ पुगेको छ । थप गाडी प्राप्त भएसंगै सवै क्षेत्रमा गस्तीका लागि र कुनैपनि क्षेत्रमा कुनैपनि प्रकारको हिंसात्मक घटना भएमा तत्काल उद्धारको काम गर्न सहज भएको प्रहरी उपरिक्षक पोखरेलले जानकारी दिए । त्यसबाहेक हेडक्वाटरले अरु बन्दोबस्तीका सामाग्रीहरू समेत उपलब्ध गराएको छ । मोरङका साथै सुरक्षाको दृष्टीकोणले संबेदनशिल मानिएका जिल्लाहरूमा पनि प्रहरी प्रधान कार्यालयबाट थप प्रहरी पठाइएको छ ।
निर्वाचनको सुरक्षाका लागि मोरङमा नौ वटै निर्वाचन क्षेत्रमा डिएसपीको कमाण्डमा प्रहरी परिचालनको तयारी गरिएको छ । हाललाई इलाका प्रहरी कार्यालय सिजुवामा डिएसपी मेघराज कडेल, इप्रका पथरीमा प्रितम भट्टराई, बेलबारीमा राजेन्द्र श्रेष्ठ, रंगेलीमा फत्त बहादुर कार्कीलाई खटाइएको छ । त्यस्तै इप्रका लेटाङमा रामेश्वर यादव, र इप्रका उर्लाबारीमा डिएसपी रामकमल आचार्यलाई खटाइएको छ । यसअघि मोरङमा रहेका डिएसपीहरू दिपक पोखरेलल र बिरेन्द्र बहादुर शाही तथा प्रहरी प्रधान कार्यालयबाट आउने थप एक डिएसपीलाई क्षेत्र तोकेर खटाइने बताइएको छ । नेपाल प्रहरीसंगै सवै निर्वाचन क्षेत्र र मतदान केन्द्रमा समेत दोस्रो सुरक्षा घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना परिचालन गरिनेछ ।
थप प्रहरी र स्रोत साधन प्राप्त भएपछि जिल्लाको शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन आफुहरू थप सामथ्र्यवान भएको पोखरेलको भनाई छ । उनले संविधानसभाको निर्वाचनमा सवैले निर्धक्कका साथ मतदान गर्न सक्ने वातावरण बनाउन आफुहरू प्रतिवद्ध रहेको भन्दै सवैलाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह पनि गरे ।
प्रतिक्रिया