भोट तान्न अनेकथरी आश्वासन

Chunab Chinhaकाठमाडौं, २५ कात्तिक । दोस्रो संविधानसभा चुनावमा भोट तान्नका लागि उम्मेदवारहरूले अनेकथरी आश्वासन दिने गरेको पाइएको छ । उनीहरूले संविधान निर्माणको मुद्दालाई प्राथमिकताबाट हटाएर भोटकै लागि विकासे योजनाका अनेकथरी आश्वासन दिइरहेका छन् ।

संविधानसभाबाट कस्तो संविधान बनाउने भन्ने मुद्दालाई छाडेर शीर्ष नेताहरूसमेत बाटोघाटो, ढल, कुलेसो, स्कुल, बिजुलीबत्ती, पानीको धारो, सडक तथा कच्ची बाटो पिच बनाउँछु भन्ने आश्वासन दिँदै भोट मागिरहेका छन् । राजनीतिक दलले चुनावी घोषणापत्रमा भने संविधान निर्माणका एजेन्डालाई प्राथमिकता दिएका छन् । संविधान निर्माणका एजेन्डासँगै उनीहरूले विकास निर्माणका ‘आश्वासन’लाई पनि घोषणापत्रमा छुटाएका छैनन् ।
विकासे योजनाका अनेक आश्वासन दिनेमा एमाओवादी उम्मेदवार बढी रहेको पाइएको छ । एमाओवादी नेताहरू कही हात्ती नियन्त्रण गर्न भोट मागेको, कहीँ अघिल्लो चुनावमा विकास निर्माण गर्न नसकेको भन्दै मतदातासँग कान समाएर माफी मागेको त कहीँ ढल बनाइदिन्छु, स्कुल बनाइदिन्छु भन्दै भोट माग्दै हिँडेका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार मात्र झापामा मेची–महाकाली राष्ट्रिय जागरण अभियानको उद्घाटनपछि आºनो पार्टीलाई बहुमत दिलाए हात्ती आतंक नियन्त्रण गर्ने भन्दै भोट मागेका थिए । झापाको बाहुनडाँगी, मेचीनगर र शान्तिनगरलगायत स्थानमा भारतीय सीमाक्षेत्रबाट आएका हात्तीले दु:ख दिने गरेको उल्लेख गर्दै दाहालले आºनो सरकार बने कूटनीतिक पहल गरी हात्ती नियन्त्रण गर्ने आश्वासन दिएका थिए ।
काठमाडौं–७ की एमाओवादी उम्मेदवार हिसिला यमीले चुनाव प्रचारका क्रममा तीनधारे क्षेत्रमा विकास गर्न नसकेकोमा स्थानीय बासिन्दासामु कान समाएरै माफी मागिन् । स्थानीय बासिन्दासँग उनले काठमाडौं–७ लाई नमुना क्षेत्रका रूपमा विकास गर्न आफू सधैँ प्रतिबद्ध रहेको भन्दै कान समाएकी हुन् ।
गोरखा–१ र रूपन्देही–४ मा उम्मेदवार रहेका एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराई पनि संविधान निर्माणको मुद्दाभन्दा पनि विकासे योजना लिएर भोट माग्न व्यस्त छन् । उनको चुनावी प्रतिबद्धतामा संविधान कस्तो बनाउने भन्ने भन्दा पनि भोट ल्याउन मतदातालाई तान्ने तवरका विकासे योजना बढी पाइएको छ ।
काठमाडौं–६ का एमाओवादी उम्मेदवार हिमाल शर्माले त आफू उठेको क्षेत्रमा विकास निर्माणका काममा प्रतिबद्ध भएर लाग्ने सौर्यसँग बताए । शर्माले चुनावी प्रतिबद्धतापत्रमा सशस्त्र द्वन्द्वकालमा आफूले यातना पाएको फोटो भनेर चलचित्रका लागि तयार गरिएको तस्बिर राखी प्रचार गरिरहेको पाइएको छ । शर्मालाई २०६० सालमा तत्कालिन शाही सेनाले पक्राउ गरी भैरवनाथ गणमा चरम यातना दिई २७ महिना बेपत्ता बनाएको थियो । जनयुद्धमा यातनाको विषयमा बनाइएको एक चलचित्रमा प्रयोग गरिएको दृश्यलाई लिएर उनी मतदाताकहाँ पुगेका छन् ।
आसन्न चुनाव संविधानसभाका लागि भए पनि नेताहरू भने भोट तान्नका लागि स्थानीय तथा संसदीय चुनावमा जस्तो विकासे कुरा गरेर मतदातालाई अलमलाइरहेका छन् । विश्लेषक हरि रोका राजनीतिक दलले संविधानका मुद्दालाई जनतासामु पुर्‍याउनुपर्नेमा विकासे कुरा गर्नु उचित नहुने तर्क गर्छन् । संविधानको कुरा गर्दा अघिल्लोपटक किन नबनाएको भन्ने जवाफ दिनुपर्नेबाट बच्न र विकासे आश्वासन दिँदा भोट तान्न सहज हुने भएकाले उनीहरूले त्यस्तो कुरा गरेको उनको ठम्याइ छ ।

प्रतिक्रिया