जनआन्दोलनका कमाण्डरको ९८ औं जयन्ती

Ganeshman-Shing-Prakashman-काठमाडौं, २४ कात्तिक । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको ९८ औं जन्मजयन्ती मनाइदैछ ।

जन्मजयन्तीका अवसरमा आज (आइतबार) काठमाडौंको शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा माल्र्यापण गरिएको छ । गणेशमान सिंहका छोरा एवं कांग्रेस महामन्त्री प्रकाशमान सिंहसहितका नेता तथा कार्यकर्ताले सालिकमा माल्र्यापण गरेका थिए । कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुका पनि सहभागिता रहेको थियो ।

गणेशमान सिंहले १९९७ मा शोभाभगवतीबाट राजनीति सुरु गरी नेपाल प्रजापरिषद् मार्फत राणा विरोधी आन्दोलन गरेका थिए ।

पञ्चायत विरोधी आन्दोलनमा सक्रिय रही उनले २०४६ सालको पहिलो जनआन्दोलनको नेतृत्व गरेका हुन् । त्यसैले उनलाई ‘सर्बोच्च कमाण्डर’को उपाधि दिइएको थियो ।

त्यागी नेताको रुपमा चिनिने नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष गणेशमान सिंह २००७ सालपछि बनेको सरकारमा उद्योग मन्त्रीसमेत भए । विक्रम संवत् १९७२ साल कात्तिक २४ गते काठमाडौंको यट्खामा जन्मिएका गणेशमान सिंहको २०५४ असोज २ गते निधन भएको हो ।

यसैबीच, कांग्रेस महामन्त्री सिंहले मतदान गरेर जनप्रतिनिधि चयन गर्न पाउने सार्वभौम अधिकारलाई कसैले अवरोध गर्न नहुने बताए । उनले जनताको अधिकार खोस्न खोज्ने आफै विलाएर जाने चेतावनी दिए । तस्विर सौजन्य यूपी लामिछाने

प्रतिक्रिया