‘संविधान पाउन गाईलाई भोट’

kamal_thapaदैलेख, २४ कात्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान पाउनका लागि अब नेपाली जनताहरूले राप्रपा नेपाललाई जिताउन जरुरी भइसकेको बताएका छन् ।

चुनावी सभालाई सम्बोधन गर्न दैलेख पुगेका थापाले भने, ‘राष्ट्रको ढकुटीबाट तपाईं हाम्रो एक सय अर्ब रुपियाँ स्वाहा पारे, ७ वर्षसम्म पनि नेपाली जनतालाई संविधान दिन सकेनन् ।’
उनले आफूलाई ठूला भन्ने तीन दलको खिचातानीका कारण मुलुकले संविधान नपाएको भन्दै फेरि पनि यीनै पार्टीलाई भोट दिएमा मुलुकले फेरि संविधान नपाउने ठोकुवा गरे ।
मुलुकमा भ्रष्टचार, महँगी, लुटपात, गरिबी र बेरोजगारी बढ्दै गइरहेको भन्दै यसको समाधानको लागि एक मात्र पार्टी राप्रपा नेपाल भएको उनले बताए । नयाँ नेपाल बन्ने आशामा हामीले जंगलबाट काँधमा चढाएर संसदमा नेकपा एमाओवादीलाई ल्यायौँ । राज्यबाट होस वा विद्रोहीबाट १६ हजारभन्दा धेरै नेपाली जनताको बलि खाएर सत्तामा पुगेका पार्टीहरूले के गरे एकपटक नेपाली जनतालाई सोच्न म आग्रह गर्छु थापाले भने ।
संघीयताको नाममा देशलाई टुक्रयाएर जातीयताको नाममा देश विभाजन गर्ने षड्यन्त्र भइरहेको बताउँदै उनले भने, ‘जंगलबाट आएका नेकपा एमाओवादी पार्टी र पहिलो संविधानसभाबाट नाटकीय ढंगबाट फालिएका राजासहित अटाउने संविधान निर्माण गर्न चाहन्छौँ यो सबै तपार्इंहरूको मायाबिना सम्भव छैन, त्यसैले नेपाल बचाउन र हिन्दू राष्ट्र कायम गर्न सम्पूण नेपालीको माया ममताको आवश्यक्ता भएकाले राप्रपा नेपाललाई भोट दिन आग्रह गर्छु ।’
देशको प्रधानमन्त्री हुन विदेशीको आशिर्वाद लिने प्ररम्परालाई अन्त्य गर्न र नेपाली जनताको चाहनाअनुरूप प्रधानमन्त्री छान्ने अधिकारको व्यवस्था लागू गर्न, बेरोजगारी, भ्रष्टचार निर्मूल पार्न, मूल्य वृद्धिलाई नियन्त्रण गर्न र लुटपात र हत्याहिंसा अन्त्य गर्न राप्रपा नेपाललाई भोट दिएर बहुमतको सरकार निर्माण गर्न जिम्मा दिन उनले आग्रह गरे ।

प्रतिक्रिया