जापनी उन्सु सुन्तलाको सम्भावना

लमजुङ : सुन्तलामा ग्रिनिङ भाइरस लागेर बोट विस्तारै मर्न थालेपछि उत्पादनमा समेत नराम्रो असर परेका बेला यहाँ जापानी उन्सु जातको सुन्तलाको राम्रो सम्भावना रहेको पाइएको छ ।
चिती–२ स्याउतका रमेशराज पन्तको बगैँचामा लगाइएको यस जातको सुन्तलाले राम्रो उत्पादन दिन थालेपछि यसको सम्भावना बढेर गएको हो । जिल्ला कृषि विकास कार्यालयले सो जातको सुन्तलाका लागि लमजुङको माटो र हावापानी उपयुक्त भएकाले यसको व्यावसायिक खेती गर्न सकिने बताएको छ । आगामी दिनमा यो नयाँ जातको सुन्तलाको बिरुवा वितरण गरी जिल्लाका किसानलाई फेरि एकपटक सुन्तला खेतीतर्फको सम्भावना औँल्याउने प्रयास गरिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कृषि विकास कार्यालयका अनुसार यो जातको सुन्तला आठ सयदेखि एक हजार दुई सय मिटरको उचाईंसम्म फलाउन सकिन्छ । यो जातको सुन्तलाको बोट स्थानीय सुन्तलाको भन्दा सानो र होचो हुने बताइएको छ । यो जातको सुन्तलालाई बगैँचामा र आवश्यक परे गमलामा समेत सारेर उत्पादन लिन सकिने कृषि प्राविधिकले बताएका छन् । लमजुङको चितीमा परीक्षणका लागि लगाइएको यो सुन्तलाले राम्रै उत्पादन दिएपछि जिल्ला कृषि विकास कार्यालयले यसको प्रचारप्रसार सुरु गरेको छ । चितीका किसान पन्तको बगैँचामा लटरम्म सो जातको सुन्तला फलेपछि प्रचारप्रसारका लागि कृषि विकास कार्यालयले अभियान नै चलाएको छ ।
जिल्लामा सुन्तला जातको फलफूलका लागि पकेट क्षेत्र मानिएको चिती, उदिपुरलगायतका क्षेत्रमा लगाइएको सुन्तलामा ग्रिनिङ भाइरस (विस्तारै टुप्पो मर्दै गएपछि रुख मर्नेे) ले आक्रमण गरेपछि यहँँ सुन्तला उत्पादन ह्वात्तै घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बगैँचाका रुखहरू धमाधम मर्न थालेपछि किसानसमेत चिन्तित भएका छन् । चितीका कृषक पन्तले आफूलाई सो जातको सुन्तला कृषि अनुसन्धान परिषद् नार्कका बागवानी प्रमुख डा. कृष्ण पौडेलले दिएको र उनकै सुझावअनुसार आफूले आफ्नो बगैँँचामा लगाएको बताए । पन्तका अनुसार सो जातको सुन्तला भदौ असोजदेखि कात्तिकसम्म पाक्ने र एक बोटबाट तीन हजारसम्म आम्दानी गर्न सकिन्छ । उनले बगैचामा उन्सु जातको सुन्तला लटरम्म फल्न थालेपछि चिती स्याउतका अन्य किसानसमेत यो जातको सुन्तलाखेतीतर्फ आकर्षित भएका छन् । उनले यो जातको सुन्तलाको बिरुवाको माग धेरै भएपछि आफ्नै बगैँचामा सुन्तला नर्सरीसमेत सञ्चालन गरेका छन् ।
केही वर्षयता ग्रिनिङ भाइरसका कारण सुन्तलाको बोट मर्न थालेपछि लमजुङमा सुन्तला उत्पादनमा ह्रास आइरहेको छ । यसलाई मध्यनजर गर्दै गाउँसहर–८ पाखाथोक नरुवालका कृषि प्राविधिक जीवनजंग थापाले र चितीमा पन्तले यसको नर्सरी स्थापना गरेका छन् । यी बिरुवा रोगमुक्त प्रविधिबाट उत्पादन गरिएकाले ग्रिनिङलगायत रोग नलाग्ने कृषि प्राविधिकले बताएका छन् । (सौस)

प्रतिक्रिया