काठमाडौं, २३ कात्तिक । कांग्रेसले चुनावी आचारसंहिताविपरीतका गतिविधि रोक्न माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाओवादी, एबिसी टेलिभिजन, टिभि फिल्मी र राष्ट्रिय खेलकुद परिषद्ले आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेस टोली शुक्रबार आयोग गएको हो ।
मेची–महाकाली राष्ट्रिय जागरण अभियानको नाममा एमाओवादीले आचारसंहिता पालना नगरेको कांग्रेसको उजुरीमा उल्लेख छ । कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, राजन पन्तलगायतको टोली शुक्रबार आचारसंहिता पूर्णपालना गराउनका लागि आयोग कार्यालय कान्तिपथस्थित बहादुर भवन पुगेको थियो । उनीहरूले आचारसंहिताविपरीतका गतिविधिबारे प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र आयुक्त दोलखबहादुर गुरुङको ध्यानाकर्षण गराएका थिए ।
कांग्रेसले दोस्रो संविधानसभा चुनाव अनुगमनका लागि केन्द्र र जिल्ला तहमा ‘संविधानसभा सदस्य निर्वाचन, ०७० आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ गठन गरेको छ । समितिका संयोजकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा छन् ।
समितिका सदस्य सचिव केशव रिजालले एमाओवादीको जागरण अभियान, एबिसी टिभीबाट प्रत्यक्ष प्रसारण, टिभी फिल्मीबाट राप्रपा नेपालका उम्मेदवार उद्धव पौडेलको प्रचार र राष्ट्रिय खेलकुद परिषद्का गतिविधिविरुद्ध उजुरी दिएको बताए । ‘आचारसंहिता उल्लंघनका विषयमा आयोगको ध्यानाकर्षण गराएका छौँ,’ रिजालले भने, ‘एमाओवादीको मेची–महाकाली अभियानको नाममा भइरहेका गतिविधिले आचारसंहिता उल्लंघन गरेको छ ।’
झापाको काँकडभिट्टाबाट गत बुधबार एमाओवादीले सुरु गरेको जागरण अभियानमा सवारीसाधन र झन्डा ब्यानरको अत्यधिक प्रयोग, कार्यकर्तालाई भोजभतेर गरेको कांग्रेसको आरोप छ । त्यस्तै, एमाओवादीनिकट एबिसी टेलिभिजनले अभियानको प्रत्यक्ष प्रसारण गरेर
आचारसंहिता उल्लंघन गरेको कांग्रेसको उजुरीमा उल्लेख छ । कांग्रेसले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले एमाओवादीनिकटका क्लबलाई खेलकुदका सामग्री बाँडेको पनि आरोप लगाएको छ ।
प्रमुख आयुक्त उप्रेतीले आयोगले आचारसंहिता उल्लंघनका विषयमा आफूहरूले ध्यान दिइरहेको जवाफ दिँदै चुनावको मुखमा आएर भौतिक लडाइँमा नउत्रन राजनीतिक दलहरूलाई आग्रह गरे । ‘चुनावमा भाग लिएका दल तथा तिनका उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा भौतिकभन्दा बौद्धिक लडाइँले नै बढी सफलता एवं फाइदा पुर्याउनेछ,’ उनले भने ।
आयोगले चुनावी आचारसंहिता दलहरूकै सहमतिमा तयार गरी लागू गरेको स्पष्ट पार्दै उनले आफैँले बनाएका आचारसंहिताविपरीतका गतिविधि गर्न नहुने धारणा व्यक्त गरे । ‘राजनीतिक दलका शीर्ष नेता (उहाँहरू)सँग कुराकानी गर्दा निर्वाचनमा स्वच्छ र बौद्धिक प्रतिस्पर्धा हुन्छ भन्नुहुन्छ तर त्यो सन्देश तल्लो तहमा पुर्याउनुभएन अथवा पुर्याउन चाहनुभएन भन्ने मैले बुझ्न सकिरहेको छैन,’ उनले भने, ‘मलाई त निर्वाचनमा भाग लिएका दलहरूबीच झडप हुँदा अरू तत्वले फाइदा लिन्छन् कि भन्ने चिन्ता लागेको छ ।’
आयुक्त गुरुङले आचारसंहिता पालना गराउन आयोगले सबै संयन्त्र परिचालन गरेको जानकारी दिँदै यसमा सहयोग पुर्याउन आग्रह गरेका थिए ।
एबिसी टिभीलाई स्पष्टीकरण यसैबीच आयोगले एबिसी टेलिभिजनलाई आचारसंहिता उल्लंघन गरेको विषयमा २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
कांग्रेसले विभिन्न सञ्चारमाध्यम र चुनावी क्षेत्रमा भएका आचारसंहिता उल्लंघनका घटना तत्काल रोक्न ध्यानाकर्षण गराएपछि आयोगले एबिसीलाई स्पष्टीकरण सोधेको हो । आयोगका प्रवक्ता वीरबहादुर राईले शुक्रबारको पत्रकार सम्मेलनमा एबिसीले एमाओवादीको पक्षमा समाचार प्रसारण गरेको भनी उजुरी परेकाले स्पष्टीकरण सोधिएको जानकारी दिए ।
प्रतिक्रिया