चुनावमा सहयोग गर्ने भारतीय प्रतिबद्धता

Nep-indoभैरहवा, २३ कात्तिक । नेपालमा आगामी ४ मंसिरमा हुन गइरहेको आसन्न संविधानसभा निर्वाचनलाई सफल पार्न भारतीय पक्षले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

भैरहवामा शुक्रबार सम्पन्न बोर्डर डिस्ट्रक कोअर्डिनेसन कमिटी मिटिङमा सहभागी भारतीय अधिकारीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । सीमावर्ती भारतीय महारजगन्ज, नेपालका नवलपरासी र रुपन्देहीका दुईदेशीय सुरक्षाकर्मीहरूको बैठकले आसन्न संविधानसभा निर्वाचनका लागि नेपाल भारतका सुरक्षा निकाय मिलेर सीमा नाकामा काम गर्नेसमेत प्रतिबद्धता जनाएका छन् ।
बैठकमा सीमा क्षेत्रबाट हुने अपराधिक गतिविधि, निर्वाचन सम्पन्न नहँुदासम्म सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट आवश्यक सहयोग, सीमा नाका बन्द, सीमा क्षेत्रमा सुरक्षा व्यवस्थापनलगायत विषयमा छलफल भएको नेपाल पक्षको नेतृत्व गरिरहेका रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जनाए । बैठकमा नेपाल पक्षले ५ वटा एजेन्डा प्रस्ताव राखेकामा सबै एजेन्डामा दुईदेशीय अधिकारी सहमत भएको प्रमुख जिल्ला अधिकारी पन्थीले जनाए ।
४ मंसिरमा नेपालमा हुने निर्वाचनलाई भारतीय सरकारले महत्वपूर्ण रूपमा लिएको भारतीय पक्षको नेतृत्व गरेर आएकी महाराजगन्ज जिल्लाकी अधिकारी सौम्य अग्रवालले बताइन् । जिल्ला अधिकारी अग्रवालले खुला सीमाका कारण हुन सक्ने सम्भावित घटनालाई रोक्न दुवै देशका सुरक्षा अधिकारीबीच गम्भीर छलफल भएको र भारतीय पक्षले नेपालको चुनावलाई सफल पार्न पूर्णसहयोग गर्ने प्रतिबद्धतासमेत जाहेर गरेकी थिइन् । उनले नेपालमा हुन लागेको निर्वाचनमा सुरक्षाका विषयमा गम्भीर छलफल भएको उल्लेख गर्दै भारतले नेपाललाई सक्दो सहयोग गर्ने बताइन् ।
रूपन्देही र नवलपरासीसँग नाका जोडिएका विभिन्न नाकाअन्तर्गत भारतीय सीमा सुरक्षा बलको हाल ३७ वटा चेक प्वाइन्टलाई बढाउन आवश्यक भए चेक प्वाइन्ट बढाउन भारतीय सुरक्षा अधिकारी सहमत भएको र निर्वाचनलाई मध्यनजर गर्दै ७२ घन्टासम्म सीमा नाका सिल हुने प्रस्तावमाथि छलफल भएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
बैठकमा नेपालको तर्फबाट रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पन्थी, नवलपरासीका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, लुम्बिनी अञ्चल प्रहरी प्रमुख मिंगमार लामा, रूपन्देहीका प्रहरी प्रमुख विक्रमसिंह थापा, नवलपरासीका प्रमुख विष्णुहरी गौतम, सशस्त्र प्रहरी बल सीमा सुरक्षाबल रूपन्देहीका प्रमुख भेषबहादुर शाह, राष्ट्रिय अनुसन्धान रूपन्देही प्रमुख रामबहादुर कार्की, नवलपरासीका प्रमुख भूमिप्रसाद पाठक, रूपन्देहीका सहायक सिडिओद्वय रामबहादुर कुरुम्बाङ र कौशलराज शर्माको सहभागिता रहेको थियो ।
यसैगरी भारतका तर्फबाट महाराजगन्ज जिल्लाका जिल्ला अधिकारी सौम्य अग्रवाल, प्रहरी उपरीक्षक दिलिपकुमार, एडिएम एसएस श्रीवास्तव, नौतनवाका एसडिएम एसी शर्मा, निचनौलका एसडिएम जयचन्द्र पाण्डे, नौतनवाका सिओ शुष्मा प्रकाश, निचनौलका सिओ आरके बर्मा, भारतीय सीमा सुरक्षा बलका प्रमुख एसएस बानकोटीलगायतको सहभागिता रहेका रूपन्देहीका सहायक प्रजिअ कुरुम्बाङले जनाए ।

प्रतिक्रिया