आचारसंहिताविपरीत विद्यालयमा चुनावीसभा

बर्दिया : बर्दिया जिल्लामा ठूला राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारका क्रममा विद्यालयको प्रयोग गरेको पाइएको छ । संविधानसभा निर्वाचन आचारसंहिता, ०७० ले चुनावी प्रचारप्रसारका लागि विद्यालय प्रयोग गर्न निषेध गरे पनि दलहरूले आचारसंहिता मिचेरै विद्यालय परिसरमा चुनावी कार्याक्रम गरेको पाइएको छ । चार वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा विषेशगरी जिल्लाको क्षेत्र नं. ४ मा राजनीतिक पार्टीले निर्वाचन आचारसंहिताविपरीत विद्यालयलाई चुनावी सभा तथा साँस्कृतिक कार्यक्रमका लागि प्रयोग गर्दै आएका छन् । ठूला दलको रूपमा चिनिएका एकीकृत माओवादी, नेपाली कांग्रेस, एमाले पार्टीका उम्मेदवारबाट चुनावी प्रचारप्रसारका लागि विद्यालय प्रयोग गरेको पाइएको हो ।
क्षेत्र नंं. ४ अन्तरगत राजापुर गाविस–२ धोविनपुरस्थित नेरा भेरी ललितापुर माविमा गत १८ कात्तिक दिउँसो ३ बजे एमाओवादीले आचारसंहिताविपरित चुनावी प्रचारप्रसार गर्न सांस्कृतिक कार्यक्रम गरेको स्थानीयले बताएका छन् । एमाओवादी पार्टीका सांस्कृतिक टोली र प्रचारप्रसार टोली पार्टी चुनाव चिह्नसहित विद्यालय परिसरभित्रै चुनावी कार्यक्रम गरेका थिए । एमाओवादीको सांस्कृतिक कार्यक्रम भइरहेको बेलामा नेपाली कांग्रेका युवा टोली सो ठाउँमा पुगेपछि निर्वाचन आचारसंहिताविपरित विद्यालयमा कार्यक्रम गरेको भन्दै विरोध गरेका थिए । दौलतपुर गाविस–१ स्थित कालिका माविमा समेत एमाओवादीले सांस्कृतिक कार्यक्रम गरेको छ । सोही विद्यालयमा नेपाली कांग्रेसले पनि चुनावी सभा नै गरेको स्थानीयले बताएका छन् । तर, थरुहट तराई पार्टीले सोही ठाउँ कार्यक्रम गर्न खोज्दा भने प्रहरीले कार्यक्रम गर्न नदिएको गुनासो छ । ‘ठूला पार्टी भनिएकालाई विद्यालयमा कार्यक्रम गर्न दिने हामीलाई कार्यक्रम गर्न रोक्ने’ थरुहट तराई पार्टीका उम्मेदवार मिनराज चौधरीले भने । उनले भने, ‘आचारसंहिता सबै पार्टीलाई लागू हुनुपर्छ साना र ठूलालाई हेर्नु हुँदैन ।’
बर्दिया क्षेत्र नं. ४ मै एमालेले पनि निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा विद्यालयको प्रयोग गरेको छ । एमालेले मानपुरटपरा–३ को भीमसेन प्राविमा, खैरिचन्दनपुर गाविस–६ स्थित चन्द्रोदय निमाविमा र पशुपतिनगर गाविसको पथ्रैयाको एक विद्यालयमा एमालेले चुनावी सभा गरेको छ । ती विद्यालयमा एमाले मात्र नभएर नेपाली कांग्रेसले पनि चुनावी सभा गरेको स्थानीयले बताएका छन् ।
तीनदलले विद्यालय हाताभित्र निर्वाचन प्रचारप्रसार गर्नुका साथै गुलरिया–८ मा रहेको मदरसा असरफिया मसउदुल उलुम प्राविको मुल गेट र पर्खालमा ५ दलद्वारा निर्वाचन आचारसंहिताविपरीत उम्मेदवारको चुनाव चिह्नसहितको पोस्टर टाँसेका छन् । सो विद्यालयमा नेपाली कांग्रेस, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेपाल सद्भावना पार्टी, संघीय समाजवादी पार्टी र राप्रपा नेपाल रहेका छन् । यस्तै नगरपालिका क्षेत्रभित्र रहेका भानुभक्त प्राविलगायत जिल्लाका अन्य विद्यालयमा समेत ठूला साना राजनीतिक दलहरूले पोस्टर टाँसेको स्थानीयहरूले बताएका छन् ।
निर्वाचन बालअधिकार अनुगमन सञ्जालकी संयोजक लक्ष्मी नेपालले राजनीतिक दलहरूले आचारसंहिताविपरीत विद्यालयमा कार्यक्रम गरेको आफूहरूलाई पनि जानकारी आएको बताइन् । उनले अनुगमन गरिरहेको र त्यस्तो पाइए सम्बन्धित पक्षलाई सचेत गराउने र नमाने कानुनी कारबाही पनि अगाडि बढाउनका लागि पहल गर्ने बताइन् । निर्वाचन मुख्य अधिकृत ऋषिप्रसाद अधिकारीले निर्वाचन क्षेत्र नं. ४ मा रहेका विभिन्न विद्यालयमा गरिएको चुनावी प्रचारप्रसार कार्यक्रम रोक्नका लागि निर्देशन दिएको बताएका छन् । उनले आचारसंहिता उल्लंघनको विषयमा क्षेत्र नं. ४ मा छलफल गरी अबदेखि नदोहोर्‍याउने निर्णय गराएको बताएका छन् । उनले अबदेखि राजनीतिक दललाई विद्यालयमा चुनावी सभा र साँकृतिक कार्यक्रम प्रचारप्रसारका कार्य रोक्न निर्देशन दिएको बताए । उनले राजनीतिक दलले विद्यालय पर्खालमा टाँस गरेका पोस्टरहरू हटाउने निर्देशन दिइसकेको बताए ।
निर्वाचन आयोगले गत श्रावण ७ गतेदेखि लागू हुने गरी निर्वाचन अचारसंहिताको लागू गरेको थियो । आचारसंहिताको ३५ नम्बर विद्यालय र विद्यालय हाताभित्र आमसभा माईकिङलगायत निर्वाचन प्रचारका काम गर्न नपाउने व्यवस्था छ । त्यसैगरी निर्वाचन आचारसंहिताको १० नं. मा धार्मिक, पुरातात्विक वा ऐतिहासिक भवन, स्मारकस्थल वा सरकारी वा सार्वजनिक भवन र शैक्षिक संस्थाहरूको भित्ता वा पर्खालमा कुनै पनि किसिमको पर्चा टाँस्न नहुने उल्लेख छ ।

प्रतिक्रिया