निर्वाचन सफल बनाउन थप क्रियाशील हुन निर्देशन

काठमाडौं, २३ कात्तिक । गृहमन्त्रीको संयोजकत्वमा गठित मन्त्रिपरिषद्, आवश्यक सेवा सञ्चालन तथा व्यवस्थापन समितिको शुक्रबार भएको पहिलो बैठकले संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न विशेष क्रियाशील हुन सम्बन्धित सबै मन्त्रालयलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्द्वारा गठित संघीय मामिला तथा स्थानीय विकास, अर्थ, भौतिक पूर्वाधार तथा यातायात र कृषि विकास मन्त्रीहरू सदस्य रहेको उक्त बैठकले संविधानसभा निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक चुनौतीपूर्ण क्षणमा सबै मन्त्रालय र मातहतका सम्पूर्ण निकायलाई निर्वाचनसम्बन्धी काममा विशेष क्रियाशील हुन, प्रत्येक दिन आफू र आफू मातहतका आयोग, सचिवालय, समिति, संस्थान, विभाग र कार्यालयमा निर्वाचन सम्बन्धमा गर्नुपर्ने कार्यहरु तत्काल सम्पन्न गर्न निर्देशन दिएको हो । समितिका सचिव कृष्णहरि बास्कोटाका अनुसार शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउन गृह, निर्वाचनसम्बन्धी काममा स्रोतको अभाव हुन नदिन अर्थ, उद्योगधन्दा, कलकारखाना नियमित सञ्चालनको व्यवस्था मिलाउन उद्योग, निर्वाचन प्रयोजनका काममा विद्युत् सेवाअवरुद्ध हुन नदिन ऊर्जा, खानेपानी सेवालाई निरन्तर सञ्चालनमा ल्याउन सहरी विकास, चामल, दाल, चिनीजस्ता अत्यावश्यक दैनिक उपभोगका सामग्री एवं पेट्रोल, डिजेल, ग्यास, हवाई इन्धनलगायत वस्तुको आपूर्ति व्यवस्था दुरुस्त राख्ने व्यवस्था मिलाउन समितिले वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएको छ । अघिल्लो दिनको कामको विवरण सम्बन्धित मन्त्रालयका सचिवहरूले समितिसमक्ष भोलिपल्ट ११ बजेभित्र अनिवार्यरूपमा प्रस्तुत गर्न समितिले निर्देशन दिएको उनले बताए ।
हवाई उडान नियमित गराउने र विमानस्थललाई अतिरिक्त समयमा पनि सञ्चालनको व्यवस्था गर्ने, अन्तर्राष्ट्रिय विमानस्थल र सबै विमानस्थलसम्म पुग्ने र त्यहााबाट सहर/बस्तीसम्म यात्रु पुग्ने व्यवस्थालाई सुनिश्चित गर्ने, आकस्मिक उपचार सेवा, अक्सिजनको आपूर्ति, एम्बुलेन्स र औषधिको बिक्रीलाई चुस्त तुल्याउने, डोजर, इस्काभेटरजस्ता भारी उपकरणलाई उपयुक्त स्थानमा पार्क गर्ने र शैक्षिक संस्थालाई नियमित रुपमा सञ्चालन गर्ने निर्देशन पनि सम्बन्धित मन्त्रालयलाई समितिले दिएको छ ।

प्रतिक्रिया